पहिरो गएपछि २० घर जोखिममा

असार २२ , काठमाडौं – रसुवाको डाडाँगाउँ–५ बास्तोलामा पहिरो गएपछि २० घर जोखिममा परेको छ । सिलाजितढुंगे भीरबाट निस्केको पहिरो वडा नम्बर ४ कुटुन्जे वस्तीमा पुगेपछि स्थानीयवासी घर छाडेर सोही वडाको दियालेमा बस्न थालेको स्थानीयवासी गौरव सापकोटाले बताउनुभयो । भुकम्पले धाजा फाटेका जमिनमा हालैको वर्षाले पहिरो जाने जोखिम बढेको छ ।
यसैविच बझाङमा हिमपहिरोमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको काडा गाविस–७ स्थित साइपाल भन्ने स्थानमा यार्सा खोज्ने क्रममा दार्चुला घुसाका वीरसिंह लोथ्यालको पहिरोमा परी मृत्यु भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै वर्षाका कारण दार्चुलाको सर्मौली गाविस–६ मा केदारनाथ माध्यमिक विद्यालयको निर्माण हुन लागेको चारकोठे भवन भत्किएको छ । हावाहुरीले दार्चुलाको शङ्करपुर–१ का जयराज पन्तको दुईकोठे पक्की घरको छाना र शङ्करपुरमा रहेको लटिनाथ प्राथमिक विद्यालयको तीनकोठे पक्की भवनको छानो उडाएको छ ।