ग्रिसमा आर्थिक सहयोगको प्रस्ताव नमान्ने पक्षमा मतदान

150705192131_greece_bailout_referendum_624x351_ap

असार २१ – ग्रिसमा आर्थिक संकट समाधानका लागि विदेशी सहयोग लिने कि नलिने भन्ने विषयमा भएको जनमत संग्रहमा सहयोग लिन नहुने पक्षमा बढी मत आएको छ ।
दुई तिहाइ मतको गणना सकिँदासम्म सहयोग लिनु हुँदैन भन्ने पक्षमा ६१ तथा लिनु हुन्छ भन्ने पक्षमा ३९ प्रतिशत मत खसेको सरकारी अधिकारीले बताएका छन् । युरोपियन युनियनबाट प्रस्तावित आर्थिक सहयोग बिल आउटको प्रस्तावमा भएको जनमत संग्रहको मत परिणामले ग्रिस सरकारको अभियानलाई साथ दिएको छ ।
जनमत संग्रह हुनु अघि ग्रिस सरकारले युरोपियन युनियनको प्रस्तावको विपक्षमा मत दिन आग्रह गरेको थियो । प्रधानमन्त्री एलेक्सिस सिप्रसले ग्रिसको एकता र लोकतन्त्रका लागि पनि बेल आउट प्रस्तावको विपक्षमा मत हाल्न आग्रह गर्नु भएको थियो ।
तर विपक्षीहरुले भने प्रस्तावको विपक्षमा मत बढी परेको खण्डमा ग्रिस युरो जोनबाट बाहिरीने चेतावनी दिएका थिए । ग्रिस सरकारमाथि ३ खर्ब ४० अर्ब युरो अन्तर्राष्ट्रिय ऋणको भार छ । देशलाई आर्थिक संकटबाट माथि उकास्न छिट्टै कुनै विकल्प ल्याउने ग्रिस सरकारको योजना छ ।