प्रारम्भिक मस्यौदामाथि संविधानसभा बैठकमा छलफल चल्दै

sambidansava
असार २१, काठमाडौं –  नयाँ संविधानको प्रारम्भिक मस्यौदामाथि संविधानसभा बैठकमा सोमबार पनि छलफल भैरहेको छ । छलफलमा भाग लिँदै नेकपा एमालेका माधवकुमार नेपालले जसरी भए पनि संविधानसभाबाटै संविधान जारी गरेर संविधानसभालाई सफल पार्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सहमतिको यात्रा कठिन भएको तथा पूर्ण सहमति कायम गर्न असम्भव भए पनि न्यूनतम सहमति कायम गर्नैपर्नेमा जोड दिँदै सबै पक्षलाई समेटेर सर्वस्वीकार्य संविधान जारी गर्नु श्रेयस्कर हुने विचार व्यक्त गर्नुभयो ।

मस्यौदामा सुधार गर्नुपर्ने विषय रहेका, त्यसलाई जनतामा पु¥याएर उनीहरूको सुझाव समेटेर चाँडोभन्दा चाँडो संविधान बनाउनुपर्ने काम चुनौतीपूर्ण भएको भन्दै नेपालले संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिको व्यवस्था कायम राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले संसदीय सुनुवाइ समितिलाई सशक्त बनाउनुपर्ने, अपाङ्गता भएकालाई राजनीतिक रुपमै संविधानमा स्थान दिनुपर्ने बताउनुभयो ।

एनेकपा माओवादीका अग्निप्रसाद सापकोटाले ६५ वर्षदेखिको नेपाली जनताको संविधान प्राप्तिको आकाङ्क्षा पूरा हुने अवस्था आएको उल्लेख गर्दै त्यसले सार्वभौमसत्ता मुखरित र राष्ट्रिय स्वाभिमान स्थापित भएको बताउनुभयो । राष्ट्रपतिय प्रणाली मुलुकका निम्ति उपयुक्त भएको भन्दै उहाँले नेपाली नागरिकको परिवर्तनको चाहनालाई आत्मसाथ गर्नैपर्ने र त्यो प्रणालीलाई अङ्गीकार गर्नुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका चन्द्रकान्त भण्डारीले मस्यौदाको प्रस्तावना लामो भएको, मुलुकको मौलिकता लोप हुने गरी नागरिकता वितरण गर्न नहुने, राष्ट्रको अस्तित्व मेटिने गरी हचुवाको भरमा नागरिकता दिन नहुने तथा दलितलाई आरक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । संविधानसभामा प्रस्तुत ‘नेपालको संविधान, २०७२ को मस्यौदा’ प्रति असहमति जनाउँदै चारवटा दलले संविधानसभाको आजको बैठक बहिष्कार गरेका छन् ।

बैठकको प्रारम्भमा संविधानको मस्यौदामा आफ्ना विचार प्रस्तुत गर्दै सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयतासहितको लोकतान्त्रिक संविधानका लागि जनताले गरेको आन्दोलनको मर्म मस्यौदामा समावेश नभएकामा आपत्ति जनाउनुभयो । रासस