जंकफुडको विज्ञापन छोडदिनः प्रियंका

मुम्बई – म्यागी चाउ चाउको विज्ञापनमा मोडलिङ गरेकै कारण अमिताभ बच्चनको निकै आलोचना भयो । अहिले जंकफुडको विज्ञापनमा मोडलिङ गर्ने अन्य कलाकारको पनि आलोचना सुरु हुन थालेको छ । कतिपयले यो पनि भन्न थालेका छन् ‘अब कलाकारले यस्ता बस्तुको प्रचारमा समय दिनुहुन्न ।’

अभिनेत्री प्रियंका चोपडाले कसैले गुनासो गरेकै भरमा जंक फुडको विज्ञापन गर्न नछोड्ने बताएकी छिन् । ‘म कुनै पनि उत्पादनको विज्ञानमा सहभागी हुन सक्छु । मैले विज्ञापन गरेको बस्तु खानैपर्छ भन्ने छैन ।’ रुखो जवाफ दिइन् उनले ।

‘गंगाजल-२’ को सुटिङका लागि मध्यप्रदेशको राजधानी भोपाल पुगेकी प्रियंकाले कम्पनिको विश्वासमै आफुले जंकफुडको विज्ञापन गरेको बताइन् । हरेक कम्पनिको उत्पादनलाई अविश्वास गरेर जीबन चलाउन नसकिने उनको भनाई थियो । ‘म पनि धेरै चिज कम्पनिको विज्ञापन हेरेरै खान्छु । किनकी हरेक बस्तु खानु अलि चेकजाँच गर्ने ल्याब मेरो घरमा छैन ।’

आफुले विज्ञापन गरेका कुनै पनि बस्तु पहिला आफैंले उपभोग गर्ने गरेको बताइन् । उनको भनाई अनुसार कुनै पनि उत्पादनको विज्ञापन गर्ने पक्का भएपछि कम्पनिले उनलाई घरमै सामान ल्याइदिन्छ । ती सामग्री उनी आफैंले उपभोग गर्ने गरेकी छिन् ।