पाँच वर्षसम्म बैठक भत्तालगायतका खर्च कटौती गर्न सभासद् ढकालको प्रस्ताव

असार ११, काठमाडौँ – भूकम्पका कारण देशले भोग्नुपरेको विपत्तिका बेला बैठक भत्तालगायत अन्य खर्च कटौती गर्न सभासद् श्यामप्रसाद ढकालले प्रस्ताव गर्नुभएको छ ।

व्यवस्थापिका–संसद् राज्य व्यवस्था समितिको आजको बैठकमा सभास्दले पाँच वर्षसम्मका लागि सभासद्हरूको भत्ता कटौती गर्न प्रस्ताव गर्नुभएको हो ।
उहाँले यस अवधिमा सरकारी खर्चमा विदेश भ्रमण नगर्न र बिहान बैठक बोलाएपछि प्रतिव्यक्ति दैनिक खर्च हुने रु ५०० बराबरको खाना खर्च नियन्त्रण गरी दिउँसो बैठक बोलाउन र बैठकमा चिया–बिस्कुटको व्यवस्था गर्न पनि माग गर्नुभयो ।
समितिका सभापति दीलबहादुर घर्तीको सभापतित्वमा बसेको सो बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम तथा गृह सचिव सूर्यप्रसाद सिलवाललाई विपद् व्यवस्थापनका विषयमा भएको गतिविधिबारे जानकारी गराउन आमन्त्रण गरिएको थियो । रासस