दाता सम्मेलन सफल भयो – प्रम कोइराला

असार ११, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालाले आषाढ गते सम्पन्न नेपालको पुनर्निर्माणको लागि अन्तराष्ट्रिय सम्मेलन(ICNR) सफल भएको बताउनु भएको हो ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्प पीडित नेपालीहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गर्न आएका टोली र सञ्चारकर्मीका सामु उहाँले सो कुरा बताउनु् भएको हो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले सम्मेलनमा कुन रुपमा सहभागिता हुन्छ र कसरी सम्पन्न हुन्छ भन्ने चासोका बीचमा आयोजित सम्मेलन अत्यन्त सफल भएको बताउनु भयो । उहाँले सम्मेलनमा विभिन्न मुलुक र दातृ निकायहरुबाट उच्च स्तरीय प्रतिनिधिमण्डलको सहभागिता भएको बताउदै सबैले नेपालमा आएको यस्तो अकल्पनीय विपदाको घडीमा नेपाललाई सक्दो सहयोग गर्न आह्वान गरेर नेपालको विकास प्रयासलाई सार्थक तुल्याउन सहयोग गर्नुभएको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री कोइरालाले दातृ सम्मेलनमा सहयोगको प्रतिबद्धता राम्रो आएको बताउदै पुनर्निर्माणको काम बर्षायाम सकिए पछि शुरु हुने बताउनु भयो ।
उहाँले अव बन्ने बस्ती भौगर्भिक रुपमा सुरक्षित धरातलमा बसाउनु पर्ने, भवनहरु भूकम्प प्रतिरोधी हुनु पर्ने सम्पूर्ण बस्ती सडक,ढल,पानी,बिजुली,टेलिफोन जस्ता पूर्वाधारले सम्पन्न हुने गरी बनाइने पनि बताउनुभयो ।
“हामीले ठूलो चुनौतिलार्ई सामना गरेका छौ” प्रधानमन्त्री कोइरालाले भन्नुभयो,“ अब नयाँ आधुनिक र समृद्ध नेपालको निर्माण आरम्भ हुनेछ ।”
प्रधानमन्त्री कोइरालाले संविधान निर्माणको कार्य प्रकृयामा गएको उल्लेख गर्दै संविधान छिट्टै आउने बताउनु भयो । “अब नेपालमा शान्ति,स्थायित्व र विकास हुनेछ,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो ।