काभ्रेका पाँच गाविसका बस्ती सार्न सुझाव

असार ११, बनेपा । भूकम्पले क्षतिग्रस्त भएको काभ्रेपलाञ्चोकका पाँच गाविसलाई भूगर्भविद्हरुले जोखिमपूर्ण भएको भन्दै बस्ती सार्न सुझाव दिएका छन् ।उनीहरुले जिल्लाको पाँच गाविसमा पुगेर गरेको अध्ययनबाट देखिएको भौगर्भिक अवस्थाबारे राजनीतिक दल, सभासद्, प्रमुख जिल्ला अधिकारीलगायतलाई विस्तृत जानकारी दिँदै त्यस्तो सुझाव दिएका हुन् ।

भूगर्भविद्हरुले जिल्लाको दुर्गम गाविस मानिने बोल्देफेदिचे, च्याम्रेङवेसी, नाग्रेगर्गचे, पोखरीनारायणस्थान र पोखरीचौरी गाविसमा स्थलगत अध्ययन गरेपछि सो सुझाव दिएको काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी चिरञ्जीवी तिम्सिनाले जानकारी दिए ।चार दिनको अवधिमा स्थलगत अध्ययन गरेको टोलीमा सम्बन्धित निर्वाचन क्षेत्रका सभासद् संयोजक रहने गरी विज्ञान तथा प्रविधि मन्त्रालय, खानी तथा भूगर्भ विभागलगायतको सहभागिता रहेको थियो ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले त्यस क्षेत्रका अधिकांश बासिन्दा जोखिममा रहेकाले केही पलायन भएका र केहीलाई सुरक्षित स्थानमा लगिएको बताए ।

उनले बस्ती नै जोखिममा रहेकाले गाविसलाई पत्राचार गरेर स्थानीय बासिन्दाको अस्थायी बसोवासको प्रबन्ध गरिने जानकारी दिँदै सङ्कटमा परेकाका लागि खाद्यान्न तथा त्रिपाल जगेडा राखिएको बताए ।

यसबाहेक काभ्रेपलाञ्चोकका २९ गाविसमा पनि भूकम्पका कारण जोखिम बढेकाले स्थानीय बासिन्दा सुरक्षित स्थानको खोजीमा विस्थापित भएका छन् । खासगरी च्याम्रेङवेसी र नाग्रेगर्गचे गाविसका तीन सय भन्दा बढी विस्थापित भएको जिल्ला प्रकोप तथा राहत उद्धार समितिले जनाएको छ।