अनिश्चितकालका लागि ओपिडी सेवा बन्द

असार ११, काठमाडौं – प्रशासनले माग पूरा नगरिदिएपछि एक सातादेखि आन्दोलनमा रहेका नोबेल मेडिकल कलेजका प्रशिक्षार्थीहरुले अनिश्चितकालका लागि ओपिडी सेवा बन्द गरेका छन् ।
श्रम शोषणमा रोक र धरौटीबापतको रकम फिर्ताको माग गर्दै एक सातादेखि आन्दोलनमा रहेका नोेबेल मेडिकल कलेजका प्रशिक्षार्थी डाक्टरहरूले आफ्नो माग पूरा नभएको भन्दै ओपिडी सेवा बन्द गरेका हुन् ।
शिक्षा मन्त्रालयले वार्तामा बोलाएको भए पनि विद्यार्थीहरू माग पूरा हुने वातावरण नदेखिएको भन्दै वार्तामा जान अस्वीकार गरेपछि कलेज र विद्यार्थीबीचको समस्या झन् जटिल बनेको हो ।
यता, कलेज प्रशासनले विद्यार्थीकै आग्रहमा आफूहरूले मन्त्रालयमा वार्ताका लागि पहल गरेकाले हाल आएर विद्यार्थीले वार्तामा जान्न भन्नु उपयुक्त नहुने बताएको छ । कलेज प्रशासनले काठमाडौँ विश्वविद्यालयलाई समेत आफूहरूले गुहारेको र विश्वविद्यालयले पारिश्रमिकका विषयमा गर्ने निर्णय आफूलाई मान्य हुने जनाएको छ । नोबेल मेडिकल कलेजमा दैनिक एक हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।