भवन बनाउँदा होर्डिङ बोर्ड राख्नु पर्ने

असार १०, काठमाडौँ – सरकारले नक्सा पास भइसकेका घर बनाउन खुला गरेको छ । तर, भवन निर्माणका क्रममा नक्सा, स्वीकृति प्रमाणपत्रसहितको होर्डिङ बोर्ड अनिवार्य राख्नुपर्ने भएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको नगरपालिका व्यवस्थापन महाशाखा प्रमुख गोपीकृष्ण खनालले नक्सा पास भएका घर निर्माण गर्न खुला गरिएको जानकारी दिए ।
तर, नक्सा पास तोकिएको मापदण्ड पूरा भएको हुनुपर्ने उनको भनाइ छ । ‘नक्सा पास गरिसकेकालाई भवन निर्माण गर्न खुला गरिएको हो । तर, भवनको नक्सा पास नियमबमोजिम हुनैपर्छ,’ खनालले भने, ‘नयाँ भवनको नक्सा पास भने खुला गरिएको छैन ।’ भूकम्पपछि ४ जेठबाट सरकारले दुई महिनाका लागि घर निर्माण गर्न रोक लगाएको थियो । सरकारले तीन तलाभन्दा अग्लो घर बनाउन नक्सा उल्लेख भएको होर्डिङ बोर्ड अनिवार्य राख्नुपर्ने नियम बनाएको छ ।

नवनिर्मित भवन भूकम्प प्रतिरोधात्मक बनाउन मन्त्रिपरिषद्को निर्णयबाट यस्तो नियम बनाइएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्णय कार्यान्वयन गर्न महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा परिपत्र गरिसकेको छ । ‘तीनतलेभन्दा अग्लो घर बनाउन अनिवार्य रूपमा होर्डिङ बोर्ड राख्नुपर्नेछ,’ मन्त्रालयका नगरपालिका व्यवस्थापन महाशाखा प्रमुख खनालले भने, ‘होर्डिङ बोर्डमा निर्माण हुने घरको सम्पूर्ण विवरण देखिने गरी उल्लेख भएको हुनुपर्नेछ ।’ तीन तलाभन्दा अग्लो घर बनाउने घरधनीले इन्जिनियर काउन्सिलबाट प्रमाणपत्र लिएको इन्जिनियरलाई सुपरभाइजरका रूपमा अनिवार्य नियुक्ति गर्नुपर्ने नियम बनेको छ ।

घरको नक्सा पनि इन्जिनियर काउन्सिलबाट प्रमाणपत्र लिएको इन्जिनियरले नै बनाउनुपर्ने र सम्बन्धित स्थानीय निकायबाट नक्सा पास गराउनुपर्नेछ । खनालले भने, ‘घरधनीले सुपरभाइजरका रूपमा अनिवार्य इन्जिनियर राख्नुपर्छ । इन्जिनियर काउन्सिलबाट प्रमाणपत्र लिएको इन्जिरियर नै सुपरभाइजरका रूपमा राखिनुपर्छ । नक्सा पनि इन्जिनियरबाट नै कोरेको हुनुपर्छ ।’ भवन निर्माण नभएसम्म अगाडि देखिने गरी होर्डिङ बोर्ड राख्नुपर्नेछ ।

होर्डिङ बोर्डमा घरको नक्सासहित, सुपरभाइजरको नाम, नक्सा पास भएको प्रमाणपत्र, स्थानीय निकायबाट स्वीकृत लिएको प्रमाणपत्र, नक्सा बनाउने इन्जिनियरको नाम, जग्गाको क्षेत्रफल, जग्गा र घरको अनुपातिक विवरण अनिवार्य उल्लेख हुनुपर्नेछ । ‘होर्डिङ बोर्ड देखिने ठाउँमा हुनुपर्छ । घर निर्माण भएपछि मात्रै बोर्ड हटाउन सकिनेछ,’ खनालले भने, ‘बोर्डमा घरको सम्पूर्ण विवरण उल्लेख भएको हुनुपर्नेछ । यसले नजिकै रहेको छिमेकीको समेत चित्त बुझोस् ।’

मन्त्रालयका अनुसार तीनतलेभन्दा होचा घर निर्माण गर्न भने होर्डिङबोर्ड राख्न अनिवार्य गरिएको छैन । ‘तीनतलेभन्दा होचा घरको हकमा यो नियम लागू हुनेछैन,’ खनालले भने, ‘यो सम्भव पनि हुँदैन । सबैमा होर्डिङ बोर्ड राखिँदा सहरको सौन्दर्य पनि बिग्रने हुन्छ । नयपत्रिका