बाधा अड्चन हटाएर विधिसम्मत चाँडै संविधान जारी हुन्छ : उपप्रधानमन्त्री सिंह

असार ७, काठमाडौ – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले अहिले देखिएको बाधा अड्चनलाई हटाएर संविधानसभाले प्रक्रिया पूरा गरी चाँडै संविधान जारी गर्ने बताउनुभएको छ ।

“संविधानसभाका दुई तिहाईभन्दा बढी राजनीतिक दलबीच भएको १६ बुँदे सहमतिसँगै संविधान निर्माण प्रक्रिया अघि बढेको र मस्यौदा लेखनको काम भइरहेको सन्दर्भमा सर्वोच्चको अन्तरिम आदेश आएको छ, यसबारे कानुनविद्हरुको धारणा आइसकेको छ, विभिन्न बाधा व्यवधान आए पनि संविधानसभाले विधिसम्मत तरिकाले संविधान जारी गर्छ”–उहाँले भन्नुभयो ।
ग्लोबल युथ एसोसिएसन अफ नेपालले काठमाडौँ क्षेत्र नं १ का भूकम्पपीडितका लागि राहत वितरण गर्न आज यहाँ आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले अहिले देखिएको बाधा अड्चनलाई हटाएर छिटोभन्दा छिटो संविधान जारी गर्न सरकारले ठीक समयमा कदम चाल्ने बताउनुभयो ।
उहाँले रकम सानै भए पनि भूकम्पपीडितका लागि युवाले देखाएको सहयोगी भावनाले राष्ट्रमा विपत्ति पर्दा युवा एकजुट भएर खटिन्छन् भन्ने उदाहरणीय सन्देश प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।
संस्थाका अध्यक्ष शरद श्रेष्ठले भूकम्पपीडितलाई प्रोत्साहनस्वरुप सानै रकम भए पनि युवाको सक्रियतामा जम्मा गरी वितरण गर्न पाउँदा जिम्मेवारी महसुस भएको बताउनुभयो ।
सो अवसरमा संस्थाका तर्फबाट उपप्रधानमन्त्री सिंहले काठमाडौँ क्षेत्र नं १ का विभिन्न वडाका ५० जना भूकम्पपीडितलाई जनही रु १४ हजारका दरले नगद राहत वितरण गर्नुभएको थियो ।
युवाको समूहले नेपाली काँग्रेसका सक्रिय सदस्यहरुबाट रु ५०० देखि रु एक लाखसम्म गरी जम्मा रु सात लाख राहत रकम सङ्कलन गरेका थिए । उक्त अभियानका लागि उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक महिनाको तलब दिनुभएको थियो भने गणेशमान फाउन्डेसनबाट रु ५० हजार दिइएको थियो ।