विवाद समाधान गर्न कार्यदल असफल

असार ७, काठमाडौ – संविधान मस्यौदा समितिअन्तर्गतको कार्यदल विवाद समाधान गर्न असफल भएको छ ।

मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले मस्यौदा एकीकरण र विवाद समाधानका लागि पाएको आजसम्मको समयसीमा प्रतिवेदन बुझाउनुपर्नेछ । तर आज बस्ने
समितिको पूर्ण बैठकमा विवाद समाधानसहितको पहिलो एकीकृत मस्यौदा पेस गर्ने सम्भावना छैन ।
केही विषय मिल्न बाँकी रहेकाले प्रतिवेदन पेश गर्न नसकिने समितिका सदस्य कांग्रेसका नेता रमेश लेखकले जानकारी दिनुभयो । समितिको बैठक दिउँसो बोलाइएको छ ।
योजना असफल भएपछि कार्यदलले थप दुई दिनको समय लिने भएको छ । कार्यदलको ढिलाइका कारण बढीमा १५ दिनभित्र नयाँ संविधानको पहिलो एकीकृत मस्यौदा निर्माणका लागि संविधानसभाले दिएको निर्देशन कार्यान्वयनमा समस्या पर्न सक्ने देखिएको छ ।
कार्यदलले संविधानको प्रस्तावना, परिभाषा र नागरिकतासम्बन्धी छलफल मात्र टुंग्याएको छ भने मौलिक अधिकारका विषयमा छलफल भए पनि कार्यदलले त्यससम्बन्धी मस्यौदालाई अन्तिम रूप दिन सकेको छैन ।
संविधानसभाले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले टुंग्याउन बाँकी रहेका विवादित विषयमा समेत निर्णय गरी मस्यौदा निर्माणको जिम्मेवारी समितिलाई दिएको थियो । दलहरूबीच संविधानको प्रस्तावनामा प्रयोग गरिने बहुलवाद शब्दका अतिरिक्त नागरिकता, संक्रमणकालीन व्यवस्था, संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्ति, संविधान संशोधन, महाभियोग तयारीका लागि विशेष संसदीय समितिलगायतका विषय विवादमा नै छन् ।