विवादास्पद सहसचिव सुवेदीसँग २ वटा नागरिकता

असार ६, काठमाडौ – वैदेशिक रोगजार विभागका महानिर्देशक भरतराज सुवेदीले कानुनविपरीत किर्ते गरी तीन वर्ष उमेर घटाएर दोस्रोपटक नागरिकता प्रमाणपत्र लिएको पाइएको छ ।

नेपाल नागरिकता ऐन २०६३ को उल्लंघन गरी तीन वर्ष जागिर अवधि बढाउन उनले जन्ममिति सच्याई दोस्रो नागरिकता प्रमाणपत्र लिएका हुन् । निजामती प्रशासनमा प्राय:जसो विवाद र चर्चामा आइरहने विवादास्पद सहसचिव सुवेदीले गैरकानुनी रूपमा दुवै नागरिकता प्रमाणपत्र प्रयोग गरिरहेकोसमेत पाइएको छ ।

दुवै नागरिकतामा उनको जन्मस्थान र बाबुआमाको नाम एउटै छ । उनले निजामती किताबखानामा जागिर प्रयोजनका लागि उमेर घटाएको नागरिकता पेस गरेका छन् । किताबखाना सम्पूर्ण निजामती कर्मचारीको सेवा प्रवेश, उमेर, पदोन्नति र अवकास मितिसहितको सबै विवरण राख्ने कार्यालय हो ।

उनले २०७० मंसिर ४ मा भएको संविधानसभा चुनावमा भने बढी उमेर भएकै पहिलो नागरिकता प्रमाणपत्र प्रयोग गरेका छन् । संविधानसभा चुनावको मतदाता नामावलीमा सुवेदीको पहिलो नागरिकता प्रमाणपत्रकै जन्ममिति उल्लेख छ । उनी काठमाडौं–१६ को सितल उच्च मावि, टौडोल केन्द्रमा मतदाता थिए । २०३२ असोज १३ मा मोरङबाट लिएको उनको नागरिकता प्रमाणपत्रमा जन्ममिति २०१४ असोज १५ छ ।

कान्तिपुरलाई प्राप्त सुवेदीको मतदाता नामावलीको प्रतिलिपिमा समेत यही जन्ममिति उल्लेख छ । उनले २०३२ असोज १३ मा नागरिकता लिंदा जिल्ला प्रशासन कार्यालय मोरङको नागरिकता जारी मिति, उमेर, नागरिकता लिनेको हस्ताक्षर भएको ढड्डामा सुवेदीको विवरण भएको प्रतिलिपिसमेत कान्तिपुरलाई प्राप्त भएको छ । ढड्डामा उनको जन्ममिति २०१४ असोज १५ उल्लेख छ ।

निजामती किताबखानाको सिटरोलमा भने उनको जन्ममिति वास्तविकभन्दा तीन वर्ष कम अर्थात् २०१७ असोज १५ उल्लेख छ, तर सिटरोलमा उनको नागरिकता प्रमाणपत्र जारी मिति र स्थान भने उल्लेख छैन । कानुनको उल्लंघन गर्दै किर्ते गरी दोस्रो नागरिकता नलिएको भए २०४२ असार २५ मा सेवा प्रवेश गरेका सुवेदीले ५८ वर्ष उमेर पूरा गरी आगामी असोज १५ मा अनिवार्य अवकास पाउँथे ।

सच्याइएको नागरिकताअनुसार उनले थप तीन वर्ष अर्थात् २०७५ असोज १५ सम्म जागिरमा बहाल रहन पाउनेछन् । निजामती किताबखानाबाट कान्तिपुरलाई प्राप्त सिटरोलमा उनले २०७५ असोज १५ मा अवकास पाउने उल्लेख छ ।

सिटरोलमा भएको विवरणअनुसार उनले १४ वर्ष नपुग्दै २०३१ सालमा एसएलसी उत्तीर्ण गरेको देखिन्छ । त्यतिबेला एसएलसी दिन १६ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था थियो । पहिलो नागरिकताअनुसार भने उनले १७ वर्षमा एसएलसी उत्तीर्ण गरेका थिए ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव लक्ष्मीप्रसाद ढकालले किर्ते गरी नागरिकता लिएको प्रमाणित भएमा सुवेदीविरुद्ध नागरिकता ऐनबमोजिम किर्तेमा कारबाही हुने जानकारी दिए । ‘किर्ते र झूटो विवरण दिई उमेर सच्याएर दोहोरो नागरिकता लिएको प्रमाणित भएमा नागरिकता ऐनअनुसार किर्ते गरेकामा पाँच वर्षसम्म कैद र १ लाखसम्म जरिवानाको कारबाही हुन्छ, किर्ते गरेको नागरिकतासमेत बदर हुन्छ’ ढकालले कान्तिपुरसित भने ।

उनले सरकारी सेवामा रहेका (सार्वजनिक पद धारण गरेको) व्यक्तिले किर्ते गरी नागरिकता लिएको प्रमाणित भएमा थप कडा कारबाही हुने जानकारीसमेत दिए । ‘किर्ते गरी नागरिकता लिएको प्रमाणित भएमा ‘सार्वजनिक धारण गरेको व्यक्ति सेवाबाट बर्खास्त हुन्छ र झूटो विवरणका आधारमा सेवा सुविधा लिएको हुनाले उसमाथि भ्रष्टाचार मुद्दामा समेत कारबाही हुन्छ’ उनले भने ।

नागरिकता ऐनको दफा २१ को उपदफा ३ मा ‘कसैले नेपाली नागरिकताको झूटो वा किर्ते प्रमाणपत्र खडा गरेमा या बनाई प्रचलनमा ल्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई एक वर्षदेखि पाँच वर्षसम्म कैद वा बीस हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने’ उल्लेख छ । कान्तिपुर