निःशुल्क भिसा र टिकटले माग घटे पनि विदेशिने कामदार नघट्ने

असार ६, काठमाडौँ – श्रम तथा रोजगार मन्त्रालयले गरेको निर्णयबमोजिम ७ मुलुकमा निःशुल्क भिसा र टिकट लागू भए पनि त्यसले बिदेशिने कामदार नघट्ने निश्कर्षमा सरकार पुगेको छ ।

हाल आइरहेको मागमा ४२ प्रतिशत कामदारमात्र कामका लागि बाहिरिने गरेका छन् । ५८ प्रतिशत माग अझै पनि खेर गइरहेको छ । निःशुल्क भिसा र टिकटको बाध्यकारी ब्यवसस्था भएसँगै कामदार माग ५८ प्रतिशत घटे पनि विदेशिने संख्या नघट्ने निश्कर्षमा सरकार पुगेको कारोबार दैनिकमा खबर छ ।
वैदेशिक रोजगार विभागका अनुसार हाल ६ खाडी र मलेसियालगायत मुलुकका रोजगारदाता कम्पनीले नेपालबाट माग गर्ने कामदारको तुलनामा आधामात्रै युवा जाने गरेका छन् । तैपनि कामदारले म्यानपावर एजेन्सीलाई एक लाख रुपैयाँभन्दा बढी रकम तिर्छन् । माग ल्याउन नेपालकै म्यानपावरबीच चल्ने किसिमको कमिसनको होडबाजीले कामदार बढी रकम तिर्न बाध्य हुँदै आएका छन् ।
‘हाल खाडी मुलुक र मलेसियाका रोजगारदाताले नेपाली कामदारको टिकट र भिसा खर्च ब्यहोरिरहेका छन्, त्यही कारण अहिलेको निर्णयले माग घट्दैन,’ विभागका महानिर्देशक भरतराज सुवेदी भन्छन्, ‘केही माग घट्न सक्छ, विदेशिनेको संख्या अहिलेकै जस्तो हुन्छ ।’ चालु आवको वैशाखसम्म खाडी र मलेसिया लगायत मुलुकका रोजगारदाताले १० लाख ७५ हजार नेपाली कामदार मागेका छन् । तीमध्ये करिब ४२ प्रतिशत (४ लाख ४८ हजार) मात्र विदेशिएका छन् । श्रम बजारमा आउने संख्याभन्दा विदेशबाट आउने नेपाली कामदारको मागको आकार ठूलो छ ।