तीन दृष्टिविहीन प्रथम श्रेणीमा उत्तीर्ण

असार ६,चितवन – भरतपुरको नारायणी उमाविबाट प्रवेशिका परीक्षा दिएका तीन दृष्टिविहीन प्रथम श्रेणीमा उत्तीर्ण भएका छन् ।

प्रवेशिका परीक्षामा सहभागी हरिकला रोक्का मगर र हरिमाया सारु नवलपरासी सुनवलका र र रेश्मा सुनार बर्दघाट निवासी हुन् । छात्राको सफलताले विद्यालयलाई थप हौसला मिलेको विद्यालयका प्राचार्य पूर्ण दवाडीले बताए । जिल्ला शिक्षा कार्यालय चितवनले परीक्षाका समयमा सहयोगी राख्न दिएसँगै छात्राले परीक्षामा सफलता हासिल गरेका हुन् ।

यस्तै चितवनमा आठ संस्थागत र एक सामुदायिक विद्यालय शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन् । जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार संस्थागततर्फका ती विद्यालयमा भृकुटी बोर्डिङ स्कुल नारायणगढ, जुटपानी एकेडेमी जुटपानी, सगरमाथा बोर्डिङ स्कुल जुटपानी, आइरिक्स बोर्डिङ स्कुल भण्डारा, बाल्मीकि शिक्षा सदन भरतपुर, लिटिल फ्लावर बोर्डिङ स्कुल नारायणगढ र पिसल्यान्ड बोर्डिङ स्कुल माडी तथा सामुदायिकतर्फ इन्द्रपुरी मावि गीतानगर छन् ।

जिल्ला शिक्षा कार्यालयका अनुसार चितवनमा रहेका १० विद्यालयको नतिजा सन्तोषजनक नभएकाले अझै सुधार गर्नुपर्ने निर्देशन दिइएको छ । रासस