संविधानसभाको मस्यौदा समितिले मस्यौदा निर्माणको कामलाई निरन्तरता

असार ६, काठमाडौँ – सर्वोच्च अदालतको आदेशलाई बेवास्ता गर्दै संविधानसभाको मस्यौदा समितिले मस्यौदा निर्माणको कामलाई निरन्तरता दिएको छ । संविधानको एकीकृत मस्यौदा तयार पार्ने विषयमा समितिका सभापति कृष्णप्रसाद सिटौला संयोजक रहेको कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक अहिले केहि समय पछि सिंहदरबारमा बस्दै छ ।

समितिका सभापति सिटौलाले संविधानसभा सार्वभौम सम्पन्न भएको भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेका भरमा मस्यौदा निर्माणको काम नरोकिने बताउनुभयो । बैठकमा मधेसवादी दलका केही सभासदले सर्वोच्च अदालतको अन्तरिम आदेशको सम्मानका लागि मस्यौदा निर्माणको काम रोक्नुपर्ने माग गरेपछि जवाफमा सभापति सिटौलाले संविधानसभाले निर्देशन नदिएसम्म समितिको काम नरोकिने बताएको कार्यदलका सदस्य हितराज पाण्डेले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतले चार दलबीच भएको १६ बुँदे सहमति अन्तरिम संविधानको व्यवस्था विपरित भएको भन्दै मस्यौदा लेखनको काम अगाडि नबढाउन शुक्रबार अन्तरिम आदेश जारी गरेको थियो । कार्यदलको बैठकले प्रस्तावना र नागरिकताको विवाद समेत टुंग्याएको छ । प्रस्तावनामा बहुलवाद राख्ने÷नराख्ने विषयमा नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीबीच विवाद थियो ।