पहिराले पुरिएका तीन बस निकालियो

असार ५, काठमाडौँ – सिन्धुपाल्चोक जिल्लाका माङ्खा र राम्चे गाविसको सिमानामा पर्ने जुरेमा पहिराले पुरिएका तीन बसलाई आज सशस्त्र प्रहरी बलको टोलीले पहिरो पन्छाएर निकालेको छ । बाह्रबिसेबाट काठमाडौँतर्फ आउँदै गरेका ती खाली बस बिहीबार राति करिब १ बजे अविरल वर्षाका कारण सो ठाउँमा गएको पहिरामा परी आंशिक रुपमा पुरिएका थिए ।

सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छत्कुलीका अनुसार उद्धारमा खटिएको एपिएफ टोलीले डोजरको सहायतामा पहिरो पन्छाएर बस निकालिएको हो । सशस्त्र प्रहरी नायब उपरीक्षक सुनिल केसी भण्डारीको नेतृत्वमा उद्धारमा खटिएको एपिएफ टोलीले पहिरो पन्छाएर उक्त बस सुरक्षितसाथ निकालेको हो । पहिरो पन्छाएर अहिले अवरुद्ध सडकसमेत खुलाइएको छ । यसैबीच आजै एपिएफ टोलीले कास्की जिल्ला पोखराको फेवातालमा अनियन्त्रित डुङ्गाबाट खसेका ११ जनाको सकुशल उद्धार गरेको छ ।