मन्त्रालयको निर्णय उल्ट्याएर भवन निर्माण खुला

असार ५, काठमाडौँ – सहरी विकास मन्त्रालयले ठूला ब्यापारीको दबाबमा भवन निर्माण खुला गर्ने निर्णय गरेको छ । भूकम्पपछि स्थानीय विकास मन्त्रालयले दुई तलाभन्दामाथिको घर निर्माणमा रोक लगाइरहेका बेला सहरी विकासले खुलाउने निर्णय गरेको हो ।

स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले जेठ ४ मा मन्त्रीस्तरीय निर्णय गरी असार मसान्तसम्म रोक लगाएका थिए । यो निर्णय मन्त्रालयले खारेज गरिसकेको छैन । तर सहरी विकास सचिव अर्जुनकुमार कार्कीले सचिवस्तरीय निर्णय गरी भवन निर्माण खुला गरेकोमा खबर छ ।

ठूला ब्यापारीको दबाबमा सहरी विकासले यस्तो निर्णय गरेको हो । ब्यपारीले यस्तै दबाब भौतिक पूर्वाधार मन्त्रालयलाई पनि दिँदै आएका छन् । भवन निर्माणमा रोक लगाउँदा समग्र आर्थिक क्षेत्रमा ठूलो असर परेको भन्दै चाँडो प्रतिबन्ध फुकुवा गर्न ब्यापारीले लबिङ गरिरहेका छन् ।

स्थानीय विकास मन्त्रालयले असारमसान्तसम्म नयाँ भवन निर्माणका लागि नक्सा पास नगर्ने, निर्णयअघि नक्सा पास भए पनि निर्माण शुरु भएको हकमा पनि काम नथाल्ने र निर्माण कार्य भइरहेका भवनहरुका हकमा पनि दुई तलाभन्दामाथि बनाउन नपाइने गरी असार मसान्तसम्म रोक लगाएको छ । अन्नपूर्ण पोष्ट