संविधानका विवाद मिलाउन कार्यदलको सक्रियता

असार ४, काठमाडौ – संविधान मस्यौदा तयार गर्न बनेको कार्यदल आज पनि छलफलमा व्यस्त रहेको छ । दलहरुबीच भएको १६ बुँदे सहमति र उपसमितिले बुझाएको प्रतिवेदनका आधारमा नमिलेका विषय मिलाउन छलफल हुने कार्यदलले जनाएको छ । कार्यदलका सदस्य रमेश लेखकले तीन दिनमा सबै विवाद मिलाउनुपर्ने जिम्मेवारी रहेकाले निरन्तर छलफल भइरहेको बताउनुभयो ।

नयाँ संविधानका बाँकी विवाद मिलाउने जिम्मेवारी समितिका सभापति कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले पाएको छ । समितिअन्तर्गत गठित ५ उपसमितिले संविधानका प्रस्तावना, संक्रमणकालीन व्यवस्था, संविधान संशोधन, महाभियोग प्रस्ताव समिति, संवैधानिक निकायका पदाधिकारीको पुनर्नियुक्तिलगायत बाँकी विवाद समितिको पूर्ण बैठकबाटै निरूपण गर्ने गरी प्रतिवेदन पेस गरेका थिए ।
कार्यदलमा पाँच उपसमितिका सभापति सदस्य छन् । कार्यदलले विवाद निरूपण र मस्यौदा एकीकरणको काम असार ७ को समयभित्र सक्ने म्यान्डेट पाएको छ ।