संविधान चाँडै बन्छ : उपाध्यक्ष भण्डारी

असार ३, धुलिखेल – नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारीले १६ बुँदे सहमतिपश्चात् देश संविधान निर्माणको प्रक्रियामा अघि बढेको बताउनुभएको छ ।

एमाले स्वयम्सेवा अभियानअन्तर्गत अनेरास्ववियूले काभ्रेको कुशादेवीस्थित लालीगुँरास प्राविका लागि निर्माण गरेको पाँचकोठे टहराको हस्तान्तरण गर्दै बिहीबार नेत्री भण्डारीले उक्त कुरा बताउनुभएको हो ।
एमालेको नेतृत्वदायी भूमिकाकै कारण १६ बुँदे सहमति भएको भन्दै उपाध्यक्ष भण्डारीले अब चाँडै संविधान बन्ने र त्योसँगै मुलुकले निकास पाउने जिकिर गर्नुभयो ।
विद्यार्थीले क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणमा सघाएर जनतालाई गुन लगाएको बताउँदै भण्डारीले विद्यार्थी विश्वविद्यालयबाट मात्र नभई जनताको विश्वविद्यालयबाट पनि दीक्षित भएको बताउनुभयो ।
देशभर नै भूकम्पपीडितको सहयोगार्थ एमाले स्वयम्सेवकहरु खटिइरहेको बताउँदै नेत्री भण्डारीले अझै पनि एमाले स्वयम्सेवकहरु पीडितको घरघर पुगेर पुनःनिर्माणमा जुट्ने बताउनुभयो ।
एमाले स्वयम्सेवक अभियानअन्तर्गत अनेरास्ववियुकी महासचिव एवम् काभ्रे प्रमुख नविना लामाको नेतृत्वमा अनेरास्ववियुका विद्यार्थीले एक हप्ता लगाएर उक्त विद्यालयलाई जस्तापाताको छानासहितको पाँचकोठे भवन निर्माण गरेर हस्तान्तरण गरेको हो ।
कार्यक्रमको अध्यक्षता गर्दै महासचिव लामाले जिल्लामा अनेरास्ववियुले मात्रै एक दर्जन विद्यालयका भवन बनाइदिएको बताउनुभयो ।
कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, युवराज कार्की, विद्यार्थी इञ्चार्ज रवीन्द्र अधिकारी, एमाले काभ्रेका पूर्व अध्यक्ष गोकुल बाँस्कोटा, अध्यक्ष एवम् सभासद् रामहरि सुवेदी, कुशादेवी गाउँ कमिटी अध्यक्ष श्याम भुजू, अनेरास्ववियु जिल्ला अध्यक्ष शालिकराम पराजुली, विद्यालयकी प्रधानाध्यापक गीता अधिकारीलगायतले पुनःनिर्माणमा युवाको भूमिकाको महत्व औँल्याउनुभएको थियो ।