संविधान ल्याउन ‘डबल फास्ट ट्र्याक’बाट जानुपर्छ : प्रधानमन्त्री कोइराला

असार ३, काठमाडौँ – प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको काम ‘डबल फास्ट ट्र्याक’बाट गर्नुपर्ने बताउनुभएको छ ।

उहाँले सो कुरा आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन आएको नेपाल आदिवासी जनजाति महासङ्घका प्रतिनिधि मण्डलसँग बताउनुभएको हो । “अरुले फास्ट ट्र्याक भनेका छन्,” उहाँले भन्नुभयो, “म भन्छु फास्ट ट्र्याकले मात्र पुग्दैन, डबल फास्ट ट्र्याकमै जाऔँ ।”
सो अवसरमा प्रधानमन्त्री कोइरालाले भन्नुभयो – “संविधान छिट्टै बनाउन परेको छ । पार्टीहरु आत्तिन थाले । म अँठ्याएर त बस्ने हैन । संविधान ल्याउनुहोस्, घोषणा भएको दिन छोड्छु ।”
संविधान जारी गर्ने प्रक्रियालाई छोटो बनाउन सकिने तर मिचेर जान नहुने उहाँको भनाइ थियो । प्रधानमन्त्री कोइरालाले प्रक्रिया नमिचिकन जनतामा जाने समय घटाउन सकिने स्पष्ट पार्नुभयो ।
उहाँले आदिवासी जनजाति नेतासँग चार पार्टीबीच भएको सहमतिले संविधानको प्रारुपमात्र बनेको उल्लेख गर्दै संविधानको विषयमा छलफल गर्ने अधिकारबाट जनता वञ्चित नहुने बताउनुभयो ।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले आउने संविधानमा आदिवासी जनजातिका हकअधिकार अझ बढी सुरक्षित हुने बताउनुभयो । उहाँले आदिवासी जनजाति सबैको पहिचान, संस्कृति, वेशभूषा, भाषा, धार्मिक स्वतन्त्रता सुनिश्चित गरेर अगाडि बढ्ने स्पष्ट गर्दै भन्नुभयो, “देश सङ्घीयतामा जान्छ । जनजाति र आदिवासीले आजसम्म पाएका हकअधिकार खोसिँदैन । प्रधानमन्त्री र नेपाली काँग्रेसको सभापतिको हैसियतले जुन कुरा बोलेको छु त्यसबाट कदापि पछाडि फर्कने छैन ।”
आदिवासी जनजाति महासङ्घका अध्यक्ष एवम् सभासद् नगेन्द्र कुमालको नेतृत्वमा आएको सो प्रतिनिधिमण्डलले अब बन्ने संविधानमा आदिवासी जनजातिका हकअधिकार संरक्षित हुनुपर्ने मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री कोइरालालाई बुझाएको थियो । रासस