राहत वितरणको निगरानी गर्न प्रधानमन्त्रीको आग्रह

जेठ ३२, काठमाडौं – प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प पीडित नेपालीहरुको सहयोगको लागि दिइएको रकमबाट वितरण गरिने राहतको निगरानी गर्न दाताहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न सोमबार बालुवाटार पुगेका विभिन्न दाताहरुसँग कुरा गर्दै प्रधानमन्त्री कोइरालाले सो धारणा राखेका हुन् । उनले राहत दुरुपयोग हुन नदिन सरकार सचेत रहेको भन्दै दुरुपयोग गर्नेहरु कारवाहीको भागीदार हुने बताए ।

सहयोग जारी

भूकम्प पीडित नेपालीहरुका लागि भारतको प्रदीप फोस्फेट लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ लाख ५० हजार नेपाली रुपैयाँ सहयोग गरेको छ । त्यस्तै भारतको ज्वारी एग्रो केमिकल लिमिटेडले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १६ लाख नेपाली रुपैयाँ प्रदान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
यस्तै नेपाल वायुसेवा सञ्चालक संघले १२ लाख १६ हजार ३ सय ११ रुपैयाँ, लमही नगर विकास समिति दाङले १० लाख रुपैयाँ, अरनिको विकास बैकले ५ लाख ४० हजार ८ सय रुपैयाँ, प्रयास फाउण्डेशनले ५ लाख रुपैयाँ र गुठी संस्थानले ४ लाख ३८ हजार ८ सय ६२ रुपैयाँ ३७ पैसा सहयोग गरेको छ ।
यसैगरी नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रीय समितिले १ लाख ६० हजार रुपैयाँ, प्रकृति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ लाख १ हजार १ सय ११ रुपैयाँ र घरबहाल उपभोक्ता मञ्च चितवनले १ लाख १ हजार १ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार जम्मा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।