१६ बुँदे सहमतिको स्वागत

जेष्ठ ३०, कठमाण्डौ – संयुक्त राष्ट्रसङ्घका उपमहासचिव जेफेरी फेल्टम्यानले दलहरुबीच भएको १६ बुँदे सहमतिको स्वागत गर्नुभएको छ । उहाँले हिजो बेलुकी प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरी सोह्रबुँदे सहमतिको स्वागत गर्दै कोइराललाई बधाइ ज्ञापन गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री कोइरालाको नेतृत्वमा भएको निरन्तरको प्रयास र वार्ताको परिणामस्वरुप सोह्रबुँदे सहमति हुन सकेको उल्लेख गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लेखनमा यो कदम कोशेढुङ्गा सावित भएको बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएकोछ ।
प्रधानमन्त्री कोइरालाले उपमहासचिव फेल्टम्यानलाई धन्यवाद दिँदै महासचिव वान की मुनलाई यसको स्वागत गर्दै दिनुभएको वक्तव्यको लागि पनि आभार प्रकट गर्नुभयो । प्रधानमन्त्रीले शान्ति र विकासका लागि संयुक्त राष्ट्र सङ्घ नेपालको साझेदार भएको पनि उल्लेख गर्नुभयो ।
टेलिफोन वार्तामा प्रधानमन्त्रीले सोह्रबुँदे सहमतिलाई संविधान निर्माणमा ठूलो उपलब्धि भएको बताउनुभयो । प्रधानमन्त्री कोइरालाले संविधान निर्माणमा पूर्ण विश्वासका साथ प्रजातान्त्रिक र शान्तिपूर्ण तवरले काम गर्न चाहेको पनि बताउनुभयो ।