अपडेटः ताप्लेजुङ पहिरोमा परी ३६ जनाको निधन

जेष्ठ २८,ताप्लेजुङ – ताप्लेजुङको विकट पश्चिमी क्षेत्रका विभिन्न गाउँमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या ३६ जना पुगेको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

मृतकमध्ये ताप्लेजुङ लिङ्तेपका चमेली लिम्बू र मनमाया लिम्बू, लिबाङका देवेन्द्र लिबाङ, खोक्लिङका सविन मादेन र वसन्त विकको मात्र सनाखत भएको छ । लिबाङ, थोक्लिङ, थिङ्लाबु र लिङ्केत गाविसका सबै वडामा एकै चोटि भीषण पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो ।

ती गाविसबाट अझै केही स्थानीयवासी सम्पर्कमा नआइसकेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । खामलुङ गाविसका केही वडामा पनि पहिरो गएको छ । मृत्यु भएकामध्ये लिबाङ– १ बाट १२, लिवाङ– २ बाट आठ, लिवाङ– ३ बाट चार, लिङ्केतबाट तीन, थिङ्लाबुबाट पाँच, खोक्लिङबाट दुई र सान्थाक्राबाट दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

पश्चिमी ताप्लेजुङका छ गाविसका खोला आसपास र डाँडामा रहेका दुई दर्जन बढी घर पहिराले बगाएको हो । पहिराले लिङ्तेप, खोक्लिङ, लिबाङ र थिङ्लाबु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् ।

वर्षा भइरहेको र खोल्सा तथा खोला बढेका कारण उद्धारमा समेत कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले मौसम खराबी र खोलामा भएका पुल बगाएपछि घटनास्थलसम्म प्रहरी उद्धारमा पुग्न सकेको छैन ।

उद्धारका लागि काठमाडौँबाट समेत सेनाको हेलिकप्टर ताप्लेजुङ गए पनि खराब मौसमका कारण घटनास्थल पुग्न सकेको छैन । स्थानीय प्रहरी र स्थानीयवासी अहिले प्रभावित स्थानमा उद्धारमा खटिएका छन् ।