भुइँचालो र छरिएका सांस्कृतिक मनोदशा

 खेम थपलिया –

१२ वैशाख २०७२ मा आएको शक्तिशाली भुइँचालो र त्यसपछि आएका विभिन्न स्तरका भुइँचालोका पराकम्पनले नेपाली समाजको सांस्कृतिक मनोदशा विभिन्न तहमा छरिएका छन् । यसले नेपाली समाज कसरी बाँचिरहेको छ ? यसले के सोचिरहेको छ ? यसको चाहना खासमा के हो ? यो कत्तिको उत्तरदायी छ ? आदि इत्यादि कुराहरू यसपटकको भुइँचालोले सतहमा ल्याइदिएको छ । यो नकारात्मक परिघटनाले ल्याएको सकारात्मक मूर्तीकरण पनि हो । नेपालमा आएको शक्तिशाली भुइँचालोका कारण देशको राजधानी र त्यसवरिपरि क्षेत्रमा व्यापक धनजनको क्षति हुनु सामान्य कुरा छैन । यस्तो असमान्य परिस्थितिका बीचमा नेपालमा पहिलो पटक सायद विश्वमा सबैभन्दा ठूलो स्वयम्सेवाको काम भइरहेको आभास गर्न सकिन्छ । सतहबाट हेर्दा यहाँ हिमाल, पहाड, मधेस अनि मेचीदेखि महाकालीसम्मको संयुक्त पहल भइरहेको देख्न सकिन्छ । यो सुखद् सन्दर्भ हो । केही नकारात्मक विषयहरू पनि सतहमा आएका छन्, जुन कुरा स्वाभाविक नै हुन् । सिके रावत, सरिता गिरीलगायतले केही असमान्य हर्कत देखाएका भए पनि अन्य पक्षहरूबाट पहल भइरहेको देखिन्छ । नेपालमा आएको यसपटकको भुइँचालोले सांस्कृतिक मनोदशालाई सतहमा प्रकट गरिदिएको छ ।

नेपालमा भारतीय हस्तक्षेपको विविध मनोदशा त छँदैछ । प्राकृतिक प्रकोपले नपाली जनता आहत भएको बेला धर्म परिवर्तनमा दबाब दिँदै इसाई धर्म प्रचारकहरूले सर्वसाधारणको मनस्थिति खलबल्याउन खोजे । त्यस्तै, काभ्रेको पाँचखालमा राहत वितरणका क्रममा धर्मका कारण विभेद गरिएको स्थानीय वासिन्दाले गुनासो गरे । पाँचखाल नगरपालिका वडा नम्बर ७ होक्सेमा नेपाल जैन परिषद्ले भुइँचालो पीडितलाई घर बनाईदिने भने पनि गाउँमा कृष्ण प्रणामी धर्म मान्नेहरूले कृष्ण प्रणामी धर्मावलम्बीलाई मात्र घर बनाइदिन दबाब दिए । प्राकृतिक विपद् आइपरेको बेला यस्तो कुरा हुनु निकै गम्भीर कुरा हो । त्यस्तै, बाइबलमा शपथ खुवाएर धार्मिक आस्थामा आक्रमण गरिएको पनि पाइयो । एमालेका सांसद भानुभक्त ढकालले सरकारले राहत वितरणका लागि अनुमति दिएका केही संस्थाले बाइबलमा शपथ गराएर मात्र राहत बाँडेको कुरा बैठकमै बताए । अनि राहत तथा उद्धारमा लाग्नुपर्ने बेलामा स्थानीय केही युवाहरू कि त चौतारीमा, कि त पालमुनि तासको खालमा भेटिनु दुखःद् प्रसङ्ग हो । यी र यस्ता नरात्मक परिदृश्यले नेपाली समाजको सांस्कृतिक मनोदशालाई छर्लङ्ग पारिदिएको छ ।

भुइँचालोको विनास र विपत्ति झेलिरहेका गाउँ बस्तीमा क्रिश्चियन धर्म प्रचारकहरूले बाइबल भिडाउँदै धर्म परिवर्तन गर्नेलाई एक बोरा चामलको प्रलोभन देखाए । साथै, क्रिश्चियन धर्मका पादरीले चर्चभित्र ढोका थुनेर कपनको साततलेलगायतका ठाउँमा निर्दोष सर्वसाधारणलाई मृत्युको मुखमा धकेले । अहिले उनीहरू गाउँ–गाउँमा बाइबल बोकेर धर्म प्रचारक भएर हिँडेका छन् । क्रिश्चियन धर्म अँगालेमा एक बोरा चामल, एक कार्टुन चाउचाउ दिने प्रलोभनसमेत ठाउँ–ठाउँमा दिइएको समाचार आए । जनता विपत्तिमा परेका बेला पश्चिमाहरूले विपत्तिलाई बाइबल बाँड्ने अवसरका रूपमा प्रयोग गरे । कपनको साततलेमा पादरीले ढोका नथुनेको भए केही मान्छे बाँच्ने थिए ।

त्यही चर्चामा २३ जनाभन्दा बढीकाको मृत्यु भयो । रामेछापमा स्वास्थ्य शिविरका नाममा धर्म प्रचार गरेपछि स्थानीयले लखेटेका थिए । भूकम्पले घरबार गुमाएकाहरूको बाइबल हातमा थमाइदिएपछि मन्थली तनावग्रस्तै भएको थियो । ‘गुड पिपुल’ नामको संस्थाले भूकम्प पीडितका लागि सञ्चालन गरेर स्वास्थ्य शिविरमा औषधिको सट्टा इशाई धर्म प्रचार सामग्री वितरण गरिएपछि स्थानीयले विरोध गरेका थिए । स्वास्थ्य शिविरमा जाँच गराउन जाने सबै सर्वसाधारणलाई क्रिश्चियन धर्मको प्रचार गर्दै स्वर्ग खुला छ भन्ने ब्रोसर भिडाइएको थियो ।

क्रिश्चियन धर्म प्रचारकहरू रामेछापका गाउँ–गाउँमा बाइबल र धर्म प्रचारका सामग्री बोकेर सैतानले गर्दा भूकम्प आएको भन्दै सबैले इशाई धर्म अँगाल्ने हो भने विपत्ति नआउने भन्दै हिँडेको कुरालाई केही समयअघि साँघु साप्ताहिकले सार्वजनिक गरेको थियो ।

भुइँचालो गएको समयमा इसाईले ‘राम राम’ भनेर पुकारेको कुरा पनि अहिले चर्चामा रहेको छ । यसले मानिसभित्र रहेको धार्मिक तथा सांस्कृतिक आस्था कति गहिरोगरी रहेको हुन्छ भन्ने कुरालाई नै प्रमाणित गर्दछ । उद्धार तथा रहतका क्रममा रक्सीले मातेर लुगा फाल्ने केटीहरूको सन्दर्भले हाम्रो सांस्कृति अवस्थितिको द्योतन गर्दछ । मदिराले मातेर लुगा फाल्ने केटीहरू पनि भेटिनु, बहुविवाहको रहस्य खोल्नु, अनेक अपारदर्शी सम्बन्धहरू बाहिर आउनुले नेपाली समाजको सांस्कृतिक मनोदशालाई नै प्रष्ट पार्दछ ।

बहुविवाह गरी गोप्य तरिकाले राखिएका र बसेका महिलाहरू भूकम्पछि सार्वजनिक रूपमै बाहिर आए । बहुविवाह गरी विभिन्न ठाउँहरूमा गोप्य तरिकाले राखिएका महिलाहरूले भूकम्पका कारण घर भत्किएपछि आफ्ना श्रीमानसँग सम्पत्तिको हक दावी गर्नेक्रममा यसको रहस्य खुलेको हो । काभ्रेलगायतका जिल्लाहरूमा यस्ता घटना पाइएको र कतिपय उजुरीसमेत परेको राष्ट्रिय महिला आयोगले जनाएको छ । यसले नेपाली समाजको मनोदशा थप छर्लङ्ग बनाएको छ । यो बेला सञ्चारमन्त्री डा. रिजाल विशेष चर्चामा रहे । जनता यत्रो आपत् विपत्मा रहेको बेला उनी दिउँसै डान्सबारमा मस्त भए । यसले सरकार र सरकारमा रहेका जिम्मेवार मन्त्रीहरूको सांस्कृतिक मनोदशालाई नै प्रष्ट पारेको छ ।

डा. रिजाल दिउँसै युवतीहरूसँग रोधी क्लबमा डान्स गरिरहेको भेटिएका थिए । त्यस्तै, राहातमा विकृति, बिसङ्गति फेसन र भ्रष्टाचारका कुरा निरन्तर बाहिर आइरहेका छन् । यो कुरा निकै गम्भीर र संवेदनशील रहेको छ । यहीबीचमा सिके राउतले पहाडी महिला बेश्याको आरोप लगाए । यो उनको विक्षिप्त मानसिकताको पराकाष्ठा थियो । उनले आफ्नो ट्वीटर पोस्टमा पहाडी महिलाहरू बेश्या भएको आरोप लगाएका हुन् ।

निर्माण तथा पुनर्निर्माणका क्रममा जनताका खण्डहर वस्तीमा पुग्दा घरबेटी जुवा खेल्ने, स्वयम्सेवक जोखिम मोलेर काम गर्ने अवस्था पनि देखाप¥यो । नेपाली समाजमा रहेको जुवाडे, अल्छे र जँड्याहा प्रवृत्तिलाई यो भुइँचालो सतहमा लयाइदिएको छ । यसले नेपाली समाज सांस्कृतिक रूपले पनि कता जाँदैछ भन्ने कुराको द्योतन गर्दछ । यो नेपाली समाजको सांस्कृतिक स्खलनको पराकाष्ठा हो । १० रुपैयाँको १ प्याकेट चाउचाउ लिन ४ घन्टा लाइनमा बस्ने नेपाली समाजको मनोदशा साँच्चिकै उदेकलाग्दो छ ।

अचेल गाउँघरमा दिनभरि तास खेलेर दिन गुजार्ने विकृति बढ्दै गएको छ । पुरुषहरू तास खेलेर बस्ने र महिलाले मात्रै घरको काम एक्लै गर्नुपर्ने भएकाले तास महिला उत्पीडनको माध्यम बन्न थालेको छ । राजधानी आसपासका गाउँहरू जुवातास र जाँड रक्सीका कारणा अशान्त र कोलाहलपूर्ण बन्न पुग्नु यसको अर्को उदाहरण हो । यसपटक गाउँ पस्नेक्रममा राजनीतिक कार्यकर्ताहरूले समाजको सांस्कृतिक स्खलन राम्रैसँग महसुस गरे ।

यो प्रवृत्ति कतिपय उद्धारकर्मीमा पनि देखा नपरेको भने होइन ।
अन्तमा, इतिहासका खासखास सन्दर्भमा महासङ्कट महान् अवसरमा बदलिने गरेका छन् । यसपटकको शक्तिशाली भुइँचालोबाट सिर्जिएको सङ्कटलाई पनि महान् अवसरमा रूपान्तरण गर्ने दायित्व हाम्रो काँधमा आएको छ । यो कुरा त्यति सहज त पक्कै पनि छैन तर पनि नेपाली जनताको उन्नत चेतना, आकाङ्क्षा र समर्पण भावनाले यो कुरा असम्भव छैन ।

त्यसैले हामीले यतिबेला महान् सम्भावनाको स्पिरिटलाई पक्रँदै सांस्कृतिक रूपान्तरणमा जोड दिन आवश्यक छ । नेपाली समाजमा तीब्र रूपमा स्खलित हुँदै गएको सांस्कृतिक मूल्यलाई माथि उठाउने कुरा भुइँचालोबाट ध्वस्त जनताको वस्तीको निर्माण र पुनर्निर्माणसित जोडेर लैजान आवश्यक छ । सांस्कृतिक मूल्य नेपाली समाजको स्वाभिमान र राष्ट्रियतासित अभिन्न रूपले जोडिएको विषय हो । यो कुरालाई कहिल्यै नबिर्सौँ । nepalimato.com