संविधान कहिले हो बन्ने ?

जेष्ठ २८, कठमाण्डौ — संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्र्तगतको उपसमितीले संविधानका अन्तर्वस्तुमा अहिले विहान सम्म सहमति प्रतिवेदन तयार गर्ने भएको छ । सहमतिको प्रतिवेदन तयार गर्न सभासद पूर्णबहादुर खड्काको संयोजकत्वको ६ सदस्यीय उपसमितिले अहिले विहान १० सम्म प्रतिवेदन बुझाउने भएको छ ।

समितिको आज बिहान सिंहदरबारमा बसेको बैठकले सबै सदस्यहरुले आ आफ्नो धारणा राख्दा छलफल लम्बिने भन्दै छोटो प्रक्रियाबाट विवाद् टुंग्याउन सभासद् खड्काको संयोजकत्वमा ६ सदस्यीय उपसमिति गठन गरेको थियो । संवाद समितिको बैठक अहिले बिहान १० बजेको लागी तए भएको छ ।
संविधानसभाको आज बस्ने बैठकमा सहमतिको प्रतिवेदन प्रस्तुत गर्ने समितिको तयारी छ । समितिको बैठकमा संविधानसभाको बैठक बहिष्कार गरेका केही मधेसवादी दलका सभासद पनि उपस्थित भएका छन् ।
उनीहरुले चार दलबीच भएको १६ बुँदे सहमतिको विरोध गरेपनि अधिकांश साना दलका सभासदले सहमतिको स्वागत गरेका छन् । उनीहरुले प्रमुख दलहरुबीच भएको सहमतिले संविधान निर्माणको ढोका खुलेको बताएका छन् ।
साना दलका सभासदले प्रदेश सभाको निर्वाचन कसरी गर्ने र प्रदेश सभा कति सदस्यीय हुने भन्नेबारेमा १६ बुँदे सहमति मौन रहेको भन्दै प्रमुख दलहरुले यसबारेमा सबैलाई स्पष्ट पार्नुपर्ने बताए ।