दर्जनौ घर बगाए,१२ जनाको शव फेला

जेष्ठ २८, कठमाण्डौ — हिजो देखि परेको अविरल वर्षासँगै ताप्लेजुङको पश्चिमी क्षेत्रका विभिन्न गाविसमा गएको पहिरोमा परेर मृत्यु हुने मध्ये १२ जनाको शव फेला परेको छ । आठ जना गम्भीर घाइते भएका छन् । अन्य सयौं बेपत्ता भएका छन् ।

थिङलावु गाविसको याङपेलीमा पाँच जनाको शव देखिएको छ । पश्चिमी ताप्लेजुङका ६ गाविसका खोला आसपास र डांडामा रहेका दुई दर्जन बढी घर बगाएकोले सयौं बेपत्ता भएका छन् ।
पहिरोले घर बगाउदा खोक्लिङ ७ धुसेनीमा दुई जनाको ज्यान गएको छ । यता लिङतेप गाविसमा पनि एकजनाको मृत्यु भएको छ ।स्थानीयका अनुसार लिङतेपमा ७, खोक्लिङमा ९, लिवाङमा ६ र थिङलाबु गाविसमा ६ घर बगाएको छ ।
ईलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरिक्षक देवीप्रसाद फागोका अनुसार मेवाखोला बढेर आउदा खाम्लुङ गाविसको दोभान बजारको पल्लो भागका पवन लिम्बू, श्याम लिम्बू र दावा शेर्पाको घर बगाएको छ ।
गाउँमा रहेका प्रहरी युनिट उद्धारका लागि खटिए पनि पहिरोगएको स्थानमा पुग्न समस्या भएको प्रहरीले जनाएको छ । तमोर तथा मेवाखोला आसपासको सबैभन्दा ठूलो दोभान बजार जोखिममा रहेको र त्यहां ३ वटा घर बगाएका कारण दोभान बजारका स्थानीय घर छाडेर भागेका छन् ।