संवाद तथा सहमति समितिको बैठक

जेष्ठ २७, कठमाण्डौ—संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक आज बस्दै छ । चार दलबीच भएको १६ बुँदे सहमतिलाई अनुमोदन गर्न पाँच महिनापछि हिजोबाट सुरु भएको संवाद तथा सहमति समितिको बैठक विहान ११ बजे बस्ने भएको हो । संविधानका अन्तर्वस्तुमा रहेको विवादमाथि आज छलफल गर्ने र आज नै छलफल टुंग्याउने कार्य्विधि रहेको छ । संविधानका अन्तर्वस्तुमा सहमति कायम गर्न दिएको निर्देशन अनुरुप नै समितिको बैठक सुरु भएको हो । समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानका अन्तर्वस्तुमा रहेका सबै विवादमा आज पर्याप्त सहमति जुटाउने र फरक मतलाई प्रतिवेदनमा समावेश गरेर संविधानसभामा पठाउने बताउनुभयो । यसैविच संविधानसभाको बैठकले संविधानका सहमति हुन बाँकी विषय संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा पठाउने निर्णय गरेको थियो । संविधानसभाले समय नतोकि विवादित विषय सर्वसम्मतिले समितिमा पठाएको हो । संविधानसभाले अन्तिम पटकका लागि भन्दै गएको पुस २४ गते समितिलाई विवादित विषयमा सहमति गर्न पाँच दिनको समय दिएको थियो । समितिले संविधानका अन्तर्वस्तुका सहमति कायम हुन नसकेपछि असहमति कायम रहेका विषय किटान गरेर पुस २९ गते संविधानसभामा प्रतिवेदन पेश गरेको थियो ।