गर्मीले जनजीवन प्रभावित

जेठ २५, काठमाडौँ – पाँच दिनदेखि बढेको गर्मीका कारण सप्तरी जिल्लासहित तराईको जनजीवन प्रभावित भएको छ । एक्कासि बढेको प्रचण्ड गर्मीका कारण जनजीवन कष्ठकर बन्दै गएको हो ।

गर्मी बढेपछि सदरमुकाम राजविराजलगायत ग्रामीण क्षेत्रमा सर्वसाधारणको चहलपहलमा कमी आएको देखिन्छ । खासगरी गर्मीको समयमा वृद्धवृद्धा तथा बालबालिकालाई ठूलो असर पर्ने गरेको छ । राजविराजस्थित सरकारी कार्यालयमा समेत सेवाग्राहीको सङ्ख्यामा निकै कमी आएको एक कर्मचारी बताउँछन् ।

यसैगरी, अत्यधिक गर्मी बढेपछि बजारको पसलमा चिसो पेयपदार्थको बिक्री–वितरणमा वृद्धि हुनुका साथै केही व्यापारीले उचित मूल्यभन्दा बढी मुल्य लिई बिक्री–वितरण गर्ने गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

त्यस्तै, गर्मी बढेपछि गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा पखाला, ज्वरो, टाइफाइडलगायतका बिरामीको सङ्ख्यामा वृद्धि हुँदै आएको अस्पतालले जनाएको छ ।