बालबालिका निगरानी गर्न बुथ निर्माण

जेठ २५, काठमाडौँ – रौतहटको छोटी भन्सार नाकामा बालबालिका निगरानी बुथ निर्माण सुरु गरिएको छ । रौतहटका दक्षिणी सीमामा रहेका छोटी भन्सार नाकामा बालबालिका, किशोरी, महिला बेचबिखन र ओसारपसार समस्याबाट बचाउन सहयोग पु¥याउने उद्देश्यले निगरानी बुथ निर्माण कार्यको आरम्भ भएको हो ।

प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा महिला सुरक्षा दबाब समूह, मानव बेचबिखन नियन्त्रण जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, सशस्त्र सीमा सुरक्षा प्रहरी बल र जिल्ला भन्सार कार्यालय रौतहटको संयुक्त समन्वयमा भारतसँग सिमाना जोडिएका लक्ष्मीपुर बेलबिछुवा, बङ्कुल बजार र मठिया बजारको तीन स्थानमा बुथ निर्माण कार्य भइरहेको छ ।

मानव बेचबिखन एवम् ओसारपसारमा संलग्न दलाल र अपराधीले रौतहटका नाकालाई प्रयोग गर्दै विगत लामो समयदेखि यस जिल्लालगायत मकवानपुर, सिन्धुली र रामेछापका बालबालिका, युवती र महिलालाई भारतका विभिन्न सहरमा पु¥याउँदै आइरहेका थिए । खासगरी यौनव्यापार र बालश्रमका लागि भइरहेको बेचबिखन र ओसारपसारलाई नियन्त्रण तथा न्यूनीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले बुथ निर्माण कार्यमा आर्थिक सहयोग गरिएको प्लान इन्टरनेसनल नेपाल, रौतहट कार्यक्रम इकाईका प्रमुख नेत्रप्रसाद उपाध्यायले बताउनुभयो ।

भूकम्पका कारण घरबार तथा संरक्षणविहिन भएका बालबालिका, युवती र महिला बेचबिखन तथा ओसारपसारको थप जोखिममा रहेकाले सीमा क्षेत्रमा बुथ निर्माण गरी निगरानी बढाउँदा महिला र बालबालिकाको क्षेत्रमा ठूलो सहयोग पुग्ने प्रहरी प्रमुख सानुबाबु थपलियाको दाबी रहेको छ ।