१५ सय रुपैयाँ तिरेर बालिका किनियो

जेठ २५, काठमाडौँ – तीन वर्षीया एक बालिकालाई १५ सय रुपैयाँमा किनेर खगेनकोट– १ जाजरकोटका प्रेम वादी र उनकी पत्नी विष्णु आमा–बाबु बनेका छन् । आफ्ना सन्तान नभएका उनीहरूले भेरी नदीमा फालिएकी बालिकालाई किनेर ती बालिकाको अभिभावक बनेका हुन् । किनिएकी बालिकाका आमा–बाबु बनेको घटनालाई भने उनीहरूले तीन वर्षसम्म गोप्य राख्दै आएका थिए । किनेर पालेकी ती बालिकालाई उनीहरू छोरी भनेर हुर्काउँदै छन् ।

माछा मार्ने क्रममा भेरी नदी किनारमा भीमबहादुर वादीले ती बालिकालाई फेला पारेका थिए । भीमबहादुरसँग प्रेमले १५ सय रुपैयाँ तिरेर बालिका किनेका थिए । माछा मार्न १५ भदौ ०६८ मा भेरी नदी पुगेका भीमबहादुरले बालिकाकी आमाले १५ दिनकी सिसु फाल्दै गरेको फेला पारेका थिए । बालिकालाई नदीमा फाल्नबाट जोगाएका भीमबहादुरले बालिका आफूले लिए भने बालिकालाई जन्मदिने आमाचाहिँ त्यहीँबाट भागिन् । बालिकाकी आमाले अवैध सम्बन्धबाट जन्मेको बताए पनि आफ्नो परिचय नदिई भागेको भीमबहादुरले बताए । भीमबहादुर र प्रेम दुवैले माछा मारेर जीवन गुजारा चलाउँदै आएका छन् ।

घुमन्ते जीवन बिताउने क्रममा भीमबहादुर ढिमेबाट र प्रेम खगेनकोटबाट रग्दा गाविसको चौखामा बस्न पुगेका थिए । चौखामा भीमबहादुर र प्रेमको परिवार सँगै माछा मार्ने काम गर्दै आएका थिए । नदीबाट माछा नमारी बालिका बोकेर भीमबहादुर फर्केपछि प्रेमले त्यही दिन बालिका मागेका थिए । तर, भीमबहादुरले आफूले बचाएकाले आफैँले पाल्ने भन्दै बालिका दिएनन् । भीमबहादुरका दुई सन्तान भए पनि प्रेमका भने सन्तान छैनन् । चौखामा एक महिना बसेर घर फर्कने क्रममा प्रेमले बालिका पाल्न एक महिनासम्म लागेको खर्च भरेर बालिका किन्ने प्रस्ताव प्रेमसँग राखे । ‘एक महिनासम्म भीमबहादुरले पालेको खर्च १५ सय दिएर बालिका किनेको हो,’ प्रेमले भने ।

आफ्नो सन्तान नभएकाले छोरी बनाएर पाल्न ल्याएको प्रेमको भनाइ छ । सिमसिम पानी परेको वेला फेला परेकाले प्रेमले बालिकाको नाम वर्षा वादी राखेका छन् । अब कसैले खोसेर वा मागेर वर्षालाई लिन नपाउने प्रेम दाबी गर्छन् । नयपत्रिका