अवैध रुपमा ल्याउँदै गरेको तेइस बोरा सुर्ती बरामद

जेठ २५, लहान – प्रहरीले सिरहाको मझौरा–४ बाट आइतबार भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको २३ बोरा सुर्ती बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरीको गस्ती टोलीले तस्करले ११ वटा साइकलमा बोकेर नेपाल ल्याउँदै गरेको २३ बोरा सुर्ती बरामद गरेको हो । तस्करले साइकलमा बोकेर भारतबाट नेपालतर्फ सुर्ती ल्याउँदै गरेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ तस्कर साइकल छाडेर फरार भएको प्रहरी निरीक्षक युद्धकुमार श्रेष्ठले जानकारी दिनुभयो । बरामद भएको सुर्ती र साइकल भन्सार कार्यालय बुझाइने उहाँले बताउनुभयो ।