भारतमा बस दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु

जेष्ठ,२४ काठमाण्डौ-भारतमा बस दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु भएको छ । हिजो भएको उक्त दुर्घटनामा परेर अन्य ११ जना नेपाली यात्रु घाइते भएका छन् ।
भारतको गुजरातबाट रुपैडिया हुँदै नेपालगञ्ज आउँदै गरेको बस हिजो राजस्थान प्रदेशको उदयपुर जिल्लामा दुर्घटनामा परेको हो ।
तीव्र गतिका कारण बस मोडमा पल्टिएको थियो । दुर्घटनामा परी मृत्यु भएका मध्ये एकको मात्र सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा सुर्खेत लेखफर्साका ६ वर्षीय बालक संगम विकको मात्र सनाखत भएको छ । अन्य चार जनाको सनाखत हुन नसकेको र उनीहरु पनि सुर्खेतकै बासिन्दा भएको अनुमान गरिएको छ ।
आज थप मृतक तथा घाइतेको पहिचान हुने भारतीय प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने एकिन भएको छैन ।
अत्याधिक भार र तीव्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । बसका चालक पनि फरार छन् । बस दुर्घटना भएको खबर पाएपछि सुर्खेत लेखफर्सामा रहेका आफन्तहरुमा रुवाबासी चलेको छ ।