डुबेको पानीजहाजमा ९७ शव भेटियो

जेठ २३, काठमाडौँ – चीनको एक नदीमा गएको सोमबार डुबेको पानीजहाजमा परी हराएकामध्ये शुक्रबारसम्ममा कम्तीमा पनि ९७ वटा शव भेटिएको बताइएको छ ।चिनियाँ यातायात मन्त्रालयका प्रवक्ता सु जान गुआङ्ले उक्त जहाजबाट हराएका यात्रुहरुको खोजी कार्य जारी रहेको पनि जानकारी दिए।

शुक्रबार बिहान गरिएको पत्रकार सम्मेलनका क्रममा प्रवक्ता गुआङ्ले भने– बिहान १०स्३० बजेसम्ममा उक्त नदीमा डुुबेको जाहाजका यात्रुहरुमध्ये ९७ को शव प्राप्त भएको छ ।यात्रु र चालक दलका सदस्यसहित ४५८ जना व्यक्ति रहेको सो पानीजहाज सोमबार राति साढे नौ बजे चीनको याङ्जी नदीमा डुबेको थियो ।

सो पानीजहाजबाट शुक्रबार बिहान सम्ममा ९७ वटा शव भेटिएको उद्वारकर्मीहरुले जनाएका छन् । उनीहरुकाअनुसार उद्वारको कार्य जारी नै रहेको छ र शुक्रबार बिहानसम्म ती शव भेटिएका हुन् ।अनुसन्धानबाट उक्त विमानले क्षमताभन्दा बढी भार नबोकेको पाइएको छ । साथै उक्त जहाजमा आवश्यक मात्रामा लाइफ ज्याकेट पनि रहेको पाइएको समाचारमा जनाइएको छ ।

जहाज दुर्घटना भएको भोलिपल्ट अर्थात् मङ्गलबार १३ जना यात्रुको जीवितै उद्धार गरिएको थियो । ती १३ जनाले पनि लाइफ ज्याकेट लगाएको अवस्थामा पाइएको उक्त मन्त्रालयले जानकारी दिएको छ ।डोङफाङ्जोन अर्थात पूर्वी तारा नाम गरेको सो पानीजहाज याङ्जी नदीको जिनाली भन्ने स्थानमा डुबानमा परेको थियो । रातिको समयमा सो जहाज डुबानमा परेकोले उद्धारको काममा कठिनाई भएको र त्यसका कारण धेरैको हताहत भएको बताइएको छ ।

साथै मौसमको खराबीका कारण नदीमा हराएकाको खोजीको काम कठिन भएको अधिकारीहरूले जनाएका छन् । याङ्जी नदीको नाविक प्रशासनले सो पानीजहाज पूर्वी चीनको जाङ्सु प्रान्तको राजधानी नानजिङ्बाट दक्षिण पश्चिमी चीनको चोङ्किङ सहरतर्फ गइरहेको जनाएको छ ।

सो विमानमा ४०६ जना यात्रु, ४७ जना जहाजका कर्मचारीका साथै पाँचजना ट्राभल एजेन्सीका व्यक्ति रहेका चीनको यातायात मन्त्रालयले जनाएको छ ।
ठूलो सङ्ख्याका यात्रु हराइरहेका र उद्धारकर्मीले खोजीको कामलाई प्राथमिकताका साथ अघि बढाएको भन्दै तर उक्त नदी ठूलो रहेकोले हराएका यात्रु भेट्न गाह्रो भएको अधिकारीहरूले बताएका छन् । एजेन्सी