भूकम्पमा परि कहाँ कति बेपत्ता ?

जेठ २३, काठमाडौँ । भूकम्प आएको एक महिना नाघिसक्यो । अझै करिब ३ सय मानिसको अत्तोपत्तो छैन । नेपाल प्रहरीको पछिल्लो विवरण अनुसार उपत्यकासहित भूकम्प प्रभावित जिल्लाहरुबाट हराएका २ सय १० जनाको अझै अत्तोपत्तो छैन । बेपत्ता ८० विदेशी नागरिकसमेत जोड्दा यो संख्या २ सय ९० आउँछ ।

प्रहरी प्रधान कार्यालयको विवरणअनुसार सबैभन्दा बढी रसुवाबाट ९० जना, काठमाडौंबाट ३६, सिन्धुपाल्चोकबाट २९, गोरखाबाट १८,दोलखा र नुवाकोटबाट सात–सात जना हराएको तथ्यांक छ । हराइरहेकामध्ये १९ जना कुन स्थानबाट हराएका हुन् खुलेको छैन । पहाडी र हिमाली जिल्लामा पहिरोलगायत कारणले सर्वसाधारण पुरिएर बेपत्ता भएको हुन सक्ने भए पनि राजधानीमा यति धेरै मानिस कसरी हराए ? नेपाल प्रहरीको मिसिङ पर्सन डेस्क का वरिष्ठ उपरीक्षक धीरु वस्नेतले भने,‘हराएका व्यक्तिहरुमाथि ठूलै अनुसन्धान जरुरी छ ।’

प्रहरी मुख्यालय इन्टरपोल शाखाकी प्रमुख नायव उपरीक्षक (डीएसपी) बसुन्धारा खड्काका अनुसार हराएका विदेशीमा फ्रान्स र जर्मनीका १२ – १२ जना छन् । यसबाहेक अमेरिकाका ७, इजरायल र स्पेनका ६–६ नागरिक पनि बेपत्ताको सूचीमा छन् ।