आज विश्व वातावरण दिवस बिभिन्न कार्यक्रम गरि मनाइदै

जेठ २२, काठमाडौँ – आज विश्व वातावरण दिवस नेपालमा पनि प्रकृति संरक्षणको क्षेत्रमा लागेकाले विभिन्न कार्यक्रम गरी मनाइदैछ । एउटै पृथ्वी, सात अर्ब सपनास् दिगो उपभोग, हाम्रो चाहना भन्ने नारा सहित विश्वभर दिवस मनाइदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९७३ जुन ५ तारिखदेखि यो दिवस मनाउन सुरु गरिएको हो ।

दिवसको अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना सन्देश दिनुभएको छ । उहाँले बैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पनका कारण वातावरणमा निकै ठूलो समस्या आएकोमा दुःख व्यक्त गर्नुभएको छ । यसले प्राकृतिक वातावरण एवं स्रोतहरुमा भविष्यमा गम्भिर असर पर्ने भएकाले सबैलाई सचेत हुन उहाँले आग्रह गर्नुभयो । प्रधानमन्त्री कोइरालाले एकको असल प्रयासले प्रकृति संरक्षण हुने भएपनि गलत अभ्यासले विनास निम्त्याउने भन्दै पृथ्वीलाई माया गर्नुपर्ने बताउनुभयो ।

वैशाख १२ गतेको भूकम्पका कारण नेपाललाई सन् २०२२ सम्ममा अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलुकमा रुपान्तरण गर्ने योजनामा चुनौती थपिएको उहाँको भनाई छ ।