सेफ्टी ट्यांकी सफा गर्नेक्रममा निस्सासिएर पाँच मजदुरको मृत्यु

जेष्ठ २१,कपिलवस्तु – कपिलवस्तुको निग्लिहवा गाउँ विकास समिति वडा नम्बर–७ पचेहरा गाउँंमा घरको सेफ्टी ट्यांकी सफा गर्नेक्रममा निस्सासिएर पाँचजनाको मृत्यु भएको छ ।

स्थानीय प्रकाश केवटको निर्माणाधीन घरको सेफ्टी ट्यांकीभित्र छिरेर ढलान खोल्नेक्रममा उनीहरुको निस्सासिएर मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर–७ हथौसाका विनोद थारु, भदै थारु, रमेश पासी, तौलेश्वर थारु र बाँणगंगा–४ का शिवनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सेफ्टी ट्यांकीभित्र छिरेका रमेश र तौलेश्वर बेहोस भइ ढलेपछि उनीहरुको उद्धार गर्न विनोद, भदै र शिवनारायण पनि ट्यांकीमा छिरेका थिए । ट्यांकीभित्र छिरेका कोही पनि ननिस्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जहदी प्रहरी पोस्टबाट गएका प्रहरीले सेफ्टी ट्यांकी भत्काएर बेहोस अवस्थामा उनीहरुलाई उद्धार गरी तौलिहवा अस्पताल पुर्‍याए पनि अस्पताल पुर्‍याउनासाथ मृत घोषित गरिएको थियो ।