ब्लाटरको बर्हिगमनपछि फिफा अध्यक्षको नयाँ दौड सुरु, यी छन् चर्चामा

जेष्ठ २१,काठमाडौं – सेप ब्लाटरले नाटकीय शैलीमा बर्हिगमनको घोषणा गरेपछि विश्व फुटबल महासंघ (फिफा)को नयाँ अध्यक्षका लागि दौड सुरु भएको छ ।

पाँचदिन अघिमात्रै पाँचौ कार्यकालका लागि फिफा अध्यक्षमा निर्वाचित ब्लाटरले मंगलबार राति पद छाड्ने घोषणा गरेपछि फिफा अध्यक्षका लागि नयाँ दौड सुरु भएको हो ।

यो दौडमा विश्वकै शक्तिशाली खेलकुद निकायको शीर्ष पदका लागि जोर्डनका राजकुमार अली बिन अल हुसैनलाई अध्यक्षको स्वभाविक दाबेदार मानिएको छ । उनले पछिल्लोपटक फिफा चुनावमा ब्लाटरलाई चुनौती दिएका थिए ।

उनीसँगै युरोपेली फुटबल महासंघ युएफाका अध्यक्ष मिचेल प्लाटिनी, पोर्चुगलका फुटबल हस्ती लुइस फिगो र फ्रान्सको पूर्वखेलाडी डेभिड जिनोलालाई अध्यक्ष पदको सम्भावित उम्मेदवारको रुपमा हेर्न थालिएको छ ।

फिफाको विशेष साधारणसभा अर्को वर्ष मे १३ तारिखमा मेक्सिको सिटीमा आयोजना गर्ने तयारी गरिए पनि त्यो मिति केही अघि सर्ने सम्भावना छ ।

यसैबीच, अमेरिकाले फिफाका ६ पदाधिकारीलाई ‘मोस्ट वान्टेड’को सूचीमा राखेको छ । इन्टरपोलको सूचीमा पर्नेमा ज्याक वार्नर, निकोलस लिओज लगायत छन् ।

यसअघि अमेरिकी आग्रहमा स्वीस प्रहरीले फिफाका सातजना उच्च अधिकारीहरुलाई पक्राउ गरिसकेको छ । आर्थिक अनियमितता, सम्पत्ति शुद्धीकरण तथा घुसखोरीलगायतका आपराधिक अभियोजनमा फिफाका १४ जनाविरुद्ध अमेरिकाले छानबिन थालेको हो ।

ती १४ जनामध्ये एक फिफा अध्यक्ष ब्लाटर पनि रहेको अमेरीकी सन्चारमाध्यमहरुले जनाएका छन् । सन् १९९८ देखि फिफा अध्यक्ष रहँदै आएका ब्लाटरको कार्यकालमा फिफासँग सम्बन्धित विषयमा झन्डै १५ करोड डलरको घुस प्रकरण भएको अमेरिकी अभियोजनकर्ताहरुको आरोप छ । (एजेन्सी)