पहिला संविधान त्यसपछि सहमतीय सरकार अनि पुनःनिर्माण

जेठ १८,काठमाडौ- पछिल्लो समय राष्ट्रिय सहमतिको सरकार पहिला कि संविधान पहिला भन्ने जुहारी चलिरहेका बेला प्रमुख तीन दल र मधेसी मोर्चाले वर्तमान राजनीतिक सङ्कटको अन्त्य संविधान जारी गरेरै हुने ठहर गर्दै त्यसपछि राष्ट्रिय सहमतिको सरकार बनाएर पुनःनिर्माणमा एकताबद्ध भएर जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रमुख तीन दल र मधेसी मोर्चाका अध्यक्षसहित प्रधानमन्त्री निवासमा सोमबार भएको बैठक राजनीतिक समस्या समाधान भएपछि मात्र राजनीतिक एकता हुने भएकाले सहमतिमा संविधान जारी गरेर पुनःनिर्माणमा जुट्नु बुद्धिमत्तापूर्ण हुने निष्कर्षमा पुगेको छ ।

संविधान र राष्ट्रिय सहमतिको सरकारका लागि मुलुकको अहिलेको राजनीतिक समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा शीर्ष नेतृत्वबीच मतैक्यता कायम भएको छ ।

बैठकपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष विजयकुमार गच्छदारले भूकम्पका कारण मुलुकले व्यहोर्नुपरेको महाविपत्तिको सामना गर्न सम्पूर्ण राजनीतिक दल र नागरिक पुनर्वास र नवनिर्माणमा एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो – “गफका लागि गफ गर्ने नभई काम गर्ने किसिमले नेतृत्वपङ्ति अग्रसर हुनेमा बैठकमा मतभेद रहेन, मुलुकसामु उत्पन्न चुनौती सामना गर्न र त्यस्ता चुनौतीबाट देशलाई पार लगाउँदै अघि बढ्न पहिले राजनीतिक समस्या समाधान हुनुपर्छ ।”

वर्तमान राजनीतिक समस्या समाधान गर्नु भनेको सहमतिमा संविधान बनाएर घोषणा गर्नु हो भन्दै अध्यक्ष गच्छदारले राजनीतिक समस्या समाधान भएपछि मात्र राजनीतिक एकता कायम हुने बताउनुभयो ।

भूकम्पबाट सिर्जित जटिल परिस्थितिको सामना गर्न सबै पक्ष एकजुट हुनु आवश्यक रहेको बताउँदै उहाँले राष्ट्रिय सहमतिको सरकार गठन गरेर कम्तीमा पनि तीन÷चार वर्ष नयाँ नेपाल निर्माणको अभियानमा एकजुट भएर काम गर्ने प्रतिबद्धता बैठकमा जनाइएको जानकारी दिनुभयो ।

सञ्चारकर्मीको एक प्रश्नको जवाफमा अध्यक्ष गच्छदारले भन्नुभयो – “एक महिनाभित्रै संविधान जारी गर्ने, त्यसपछि राष्ट्रिय सहमतिको सरकार गठन गरेर पुनःनिर्माण र नवनिर्माणका माध्यमबाट जनतामा विद्यमान नैराश्यता र दुःखकष्ट हटाउने प्रयत्न गर्नेछौँ ।”

बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, नेकपा ९एमाले०का अध्यक्ष केपी ओली, एनेकपा ९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुनुहुन्थ्यो ।