सम्बन्ध चिसिंदै छ कांग्रेस-एमालेको

जेठ १८,काठमाडौ – दोस्रो संविधानसभा निर्वाचनपछि सत्ता साझेदारी गर्ने विषयमै गृह मन्त्रालयको विवादले रन्थनिएका नेपाली कांग्रेस र नेकपा एमालेबीच अन्ततः एक वर्षभित्र संविधान जारी गरी सरकारको नेतृत्व परवर्तन गर्ने र त्यसलगत्तै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्ने लिखित सहमति भएपछि सरकार बन्यो ।

अहिले विनाशकारी भूकम्पले ल्याएको विपद व्यवस्थापनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आवाज एमाले र प्रमुख प्रतिपक्षी एकीकृत नेकपा माओवादीले उठाउँदै त्यसैमा राजनीतिक सक्रियता बढाउन थालेपछि सरकार गठनका विषयमा कांग्रेस र एमालेबीच विवाद सुरु भएको छ ।

एमाले र एमाओवादीबीच प्रधानमन्त्री र राष्टूपतिमा भित्री सहमति भएको जानकारहरुको भनाई छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति बन्ने भित्री सहमतिले नेपाली कांग्रेस झस्किन पुगेको छ ।

त्यसैले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला असार मसान्तभित्र संविधान जारी गरी साउन १ गते आफूले राजीनामा दिने प्रस्ताव चार दलको बैठकमा राख्नुभएपछि मुख्य सत्तारुढ दल कांग्रेस र एमालेबीच विवाद भएको हो ।

त्यसो त तत्काल सरकार बनाउने हो भने कांग्रेसले दुइटा विकल्प अघि सारेको छ । जसमा, पहिलो विकल्प बर्तमान प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा सवै राजनीतिक दललाई सामेल गराई तत्काल राष्ट्रिय सरकारको स्वरुप दिने । यो विकल्पमा जाँदा नयाँ संविधानमा सबैको अपनत्व हुने र संविधानका अन्तर्वस्तुमा समझदारी जुटाउन पनि सहज हुने कांग्रेसको तर्क छ ।

यसमा सहमति नबने कोइराला नेतृत्वको विकल्पमा निर्माण हुने राष्ट्रिय सहमतिको सरकार संविधान जारी भएपछि मात्रै हुने कांग्रेसको प्रस्ताव छ ।

सरकारकै मुख्य साझेदार एमालेले भने राष्ट्रका सामुन्ने आइपरेको विपतिको सामना गर्दै पुर्नस्थापना र पुर्ननिर्माणको कार्यलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउन तत्काल राष्ट्रिय सहमतिको नयाँ सरकार बन्नुपर्ने अडान राखेको छ ।

एमाले कोइराला सरकारलाई राष्ट्रिय स्वरुप दिन तयार नभएपछि दुई दलबीच विवाद उत्पन्न भएको हो । त्यसो त प्रमुख दलहरुबीच जेठ २१ गतेसम्म संविधानका अन्तर्वस्तु र राष्ट्रिय सरकार गठनका विषयमा सहमति निकाल्ने समझदारी भने भएको छ ।

कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले पनि संविधानको अन्तर्वस्तुमा सहमति नखोजी सरकारको बिषयमा मात्रै सहमति हुन नसक्ने बताउँदै राष्ट्रिय सहमतिको सरकार बनाएर राष्ट्रिय पुर्ननिर्माण, पुर्नस्थापना र स्थानीय निकायको निर्वाचन गर्ने कांग्रेसको प्रस्ताव रहेको बताउनुहुन्छ ।

सरकारकै मुख्य साझेदार एमालेले भने राष्ट्रका सामुन्ने आईपरेको विपति सामना गर्दै पुर्नस्थापना र पुर्ननिर्माणको कार्यलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाउन पनि तत्काल राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने अडान राखेको छ । ए

एमालेले एक बर्षभित्र संविधान निर्माण गर्ने कार्यदेशका आधारका कोइराला नेतृत्वको सरकार निर्माण भएको बताउदै संविधान नबनेको फाइदा प्रधानमन्त्रीले लिन नहुने तर्क गरेको छ ।