अहिलेको सरकार परिवर्तन हुँदैन् : कानुनमन्त्री आचार्य

जेठ १५,चितवन – कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले अहिलेको अवस्थामा नेपाली कांग्रेस नेतृत्वको सरकार परिवर्तन नहुने बताउनुभएको छ ।

चितवनको भरतपुर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री आचार्यले एमाले र एनेकपा माओवादीले भनेजस्तो सहमतिको सरकार गठनका लागि कुनै पनि छलफल नभएकाले सरकार परिवर्तनको सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।
तर, उहाँले कांग्रेसकै नेतृत्वमा अहिलेकै सरकारलाई सहमतिको सरकार बनाएर राहत र पुनःस्थापनामा जुट्नुपर्नेमा भने जोड दिनुभयो ।
भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सरकारले केही समयमा नै काम थाल्ने बताउँदै उहाँले राहत वितरणमा कुनै समस्या नदेखिएको जिकिर गर्नुभयोे ।
मन्त्री आचार्यले भन्नुभयो, “भूकम्प प्रभावित क्षेत्रका बारेमा संसद्मा उठेका कुरालाई सरकारले सम्बोधन गर्नेछ र भूकम्पका कारण घरबास गुमाएकालाई असार महिनाभित्र अस्थायी बसोबासको व्यवस्था गर्नेछ ।”