ओलीलाई प्रधानमन्त्री बनाउन बालकोटमा छलफल

जेठ १४,काठमाडौं – राष्ट्रिय सहमतिको सरकार गठनको गृहकार्य भित्रभित्रै चलिरहेका बेला एमाले नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

एमाओवादी नेतृत्वबाट अध्यक्ष केपी शर्मा ओलीलाई सहमतीय सरकारको प्रधानमन्त्री मान्न तयार भएर प्रस्ताव अघि बढिसकेको सन्दर्भमा एमालेका शीर्षनेताहरु भावी रणनीतिमा जुटेका हुन् ।
ओली निवास बालकोटमा बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेलसहितका प्रभावशाली नेताहरुबीच छलफल चलेको हो ।
महासचिव पोखरेलले आन्तरिक रणनीति बनाउन नेताहरुबीच अनौपचारिक छलफल भएको बताए । उपमहासचिव विष्णु पौडेलले अहिलेको सरकारले संकटको सामना गर्न नसकेकाले विकल्पमा छलफल हुन थालेको बताए ।
ओलीलाई प्रधानमन्त्री बनाएर सहमतीय सरकार गठन गर्ने पहलको शुरुवात एमाले नेता नेपालले गरेका थिए । एमाओवादी अध्यक्ष प्रचण्डलाई ओलीप्रति सकारात्मक बनाउन पनि नेपालले भूमिका खेलेको स्रोतले जनाएको छ ।
एमाओवादीका कतिपय आशंका निवारण गर्ने काम ओलीबाट भएको र ओलीमा बोल्ड निर्णय लिने र आवश्यक पर्दा लचिलो हुने स्वभावका कारण पनि उनलाई अघि बढाउन खोजिएको स्रोतले जनाएको छ ।
कांग्रेसलाई मनाउने जिम्मेवारी पाएका नेपालले यसबीचमा प्रधानमन्त्री कोइराला र कांग्रेस नेता शेरवहादुर देउवासँग छलफल गरेका छन् ।
कोइरालाले आफ्नै नेतृत्वमा सहमतीय सरकार बनोस भन्ने चाहना राखेकाले असारभित्र संविधान जारी गर्ने गरी कोइरालाकै नेतृत्वमा एमाओवादी र मधेसी मोर्चा सहितको सरकार बन्ने सम्भावना छ ।
यदि त्यसो भएको खण्डामा संविधान जारी भए लगत्तै ओलीको नेतृत्वमा सहमतीय सरकार बन्ने र त्यसले देश पुननिर्मार्ण र राज्य पुनसंरचना सहित स्थानीय चुनावको काम गर्ने बारे छलफल भएको एक एमाले नेताले बताए ।
कांग्रेस यो विकल्पमा सहमत नभए कांग्रेस बाहेकका शक्ति मिलेर सरकार बनाउनेसम्मको छलफल चलिरहेको छ । यस विकल्पमा समेत नेपालले साना दलहरुसँग छलफल चलाएका छन् ।