गर्मीले तराईको जनजीवन अस्तव्यस्त

जेठ १४,काठमाडौं – केही दिनयता बढेको गर्मीले मध्ये तथा सुदूरपश्चिम र तराईका जिल्लाहरुको जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।

दिपायल, नेपालगंज, भैरहवा, धनगढी, सुर्खेतलगायत ठाउँमा गर्मीका कारण सुनसान हुने गरेको छ । हिजो सबैभन्दा बढी गर्मी दिपायलमा भएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार त्यहाँको तापक्रम ४३.२ डिग्री सेल्सीयस पुगेको थियो भने नेपालगंजमा पनि ४२ डिग्री पुगेको थियो ।
गर्मीका कारण अस्पतालमा बिरामीहरुको पनि भीड बढेको छ । जल तथा मौसम विज्ञान विभागले काठमाडौ उपत्यकालगायत देशभर अझै तापक्रम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
गर्मीको समयमा दिउँसो सकेसम्म घाममा ननिस्किने, निस्कनु परे छाता ओढ्ने, तरल पदार्थ बढी खाने, बासी तथा सडेगलेको कुरा नखान तथा गर्मी भयो भनेर पटकपटक नुहाउँदा पनि छालाको संक्रमण हुने भएकाले यसतर्फ सजग हुन चिकित्सकहरुले सुझाव दिएका छन् ।