भूकम्पपछि सान्नेका बासिन्दामा छायो खुसीको लहर

जेष्ठ ९, रामेछाप – विनाशकारी भुकम्पले देशको विभिन्न ठाउमा ठुलो जनधनको क्षति गरेपनि, रामेछापको दक्षिणी मरुभूमी जस्तै बस्ति सान्ने बेसीमा भने खुसीको लहर ल्याएको छ ।

विषय वा प्रसंगले अन्यथा अर्थ नलागेमा भूकम्पले घर भत्काए पनि सान्ने बेसीका बासिन्दाको तिर्खा मेटाइदिएकोमा उनीहरु खुसी छन् । सुख्खा बस्तिमा पानीको मूल फुटेपछि उनीहरुले भूकम्पलाई धन्यवाद दिएका हुन् ।
पाकरबास गाबिसको सान्नेका बासिन्दाले लामो समयदेखि पानीको समस्या झेल्दै आइरहेका थिए । गत बैशाख १२ गते गएको भुकम्प पश्चात यो गडतिरको सुख्खा गाउँमा पानीको मूल फुटेको छ ।
महाभुकम्प र त्यसपछि गएको पराकम्पनका शक्तिशालि धक्काले सान्ने गाउका प्रायः सबै घर भत्काई दिएको छ । भुकम्पले गाउँमा बिनाश गरेसंगै पानीको मुल फुटाएले उनीहरुले राहतको सास फेरेको बताए ।
बैशाख १२ गते महाभुकम्प जानु अघिसम्म सान्नेबासी पानीको लागि सुनकोशी नदीमै आश्रित थिए । करिव अढाई घण्टाको उकालो ओराले हिडेर पानी गाउसम्म पुर्‍याउनु सान्नेबासीको दिनचर्या थियो ।
एकजनाले डोको र काँधमा गरी करिव २० लिटर पानी बोकेर लैजाने गर्थे । गाउँका बालबालिकाहरु किताब होइन प्लाष्टिकको जर्किनमा पानी बोक्नु जरुरी ठान्थे ।
अनेकौ सास्ती खेपेर लगेको पानीबाट एक परिवारले दैनिक ५ लिटरभन्दा बढी पानी खर्च गर्न पाउथेनन् । पानी अभावको कारण सान्नेबासी लामो समयदेखि सीमित पानीमा जीवन निर्वाह गर्दै आइरहेका थिए ।
सान्नेका स्थानीय २५ वर्षीय युवा गणेश कार्कीले आफ्नो आधा जीवन पानीको जोहो गर्दैमा बितेको अनुभव सुनाए । पानीको अभावका कारण शौचपछि पानी होइन स्याउला प्रयोग गर्ने गरेको उनले सुनाए ।
भूकम्पले फुटाएको पानीको मूहान कहिलेसम्म रहने हो कसैलाई थाहा छैन । तर अहिले सान्नेका बासिन्दा शौचालयमा पनि पानी प्रयोग गर्ने हैसियत राख्न थालेका छन् । अनि किन नदिनू त भूकम्पलाई धन्यवाद ?