भुकम्पका कारण क्षतिग्रस्त घरहरुको उद्धार कार्य, जारी सेनाको प्रशंशनिय काम

जेष्ठ ९, रामेछाप – गएको वैशाख १२, १३ र २९ आएको विनाशकारी भुकम्पका कारण क्षति पुगेका भौतिक संरचनाहरुको उद्धार कार्य जारी रहेको छ । रामेछापको विभिन्न गाविस तथा नगरपालिकामा जिल्ला दैवी प्रकोप उद्धार समिति, सेना, प्रहरी लगायतको संयुक्त टोलीले सो कार्य गरिरहेको छ । उद्धार टोलीले भत्किन लागेका घरहरु भत्काउने, त्यस भित्र पुरिएका नगद, अन्नपात, लत्ताकपडा लगायतका सामाग्रीहरुको उद्धार गरि पिडितलाई प्रदान गर्ने गरेको छ । उद्धार टोलीले धेरै जोखिम मोलेरै भएपनि आफ्नो कर्तव्य निभाएका छन् ।

भुकम्पका कारण रामेछाप जिल्ला निक्कै प्रभावित भएको छ । जिल्लाका अधिकाँश भौतिक संरचनाहरु पूर्ण रुपमा ध्वस्त भएका छन् । भुकम्पका कारण जिल्लामा ३९ जनाको मृत्यु भएको छ । २५ स्वास्थ्यसंस्थाहरु पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जसले गर्दा स्वास्थ्य प्रवाहमा समस्या देखिएको छ । त्यस्तै २३ वटा विद्यालयहरुका भवन पनि पूर्ण रुपमा ध्वस्त भएका छन् । जिल्लाका ४७ हजार ४ सय घर बस्न अयोग्य भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । वैशाख १२ गतेदेखि पठनपाठन सञ्चालन गर्ने बताएतापनि रामेछाप जिल्लामा भने असम्भव रहेको छ । भवनको मर्मत एवं सम्भारको काम तत्काल हुन नसकेकोले जिल्लामा पठनपाठनको प्रकृया अधुरो नै हुने आशंका गरिएको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार रामेछापमा ५३ हजार ८ सय ३० थान त्रिपाल वितरण भइसकेको छ । समितिले हाल राहत सामाग्री नपुगेका गाविसलाई मध्य नजर गरी राहत वितरण कार्य गरेको बताएको छ ।