रामेछापमा हालसम्म ५३ हजार ८ सय ३० थान त्रिपाल वितरण

जेष्ठ ८, रामेछाप  – रामेछाप जिल्लाका भुकम्प प्रभावितहरुका लागि हालसम्म सरकार र विभिन्न संस्थाहरुले ५३ हजार ८ सय ३० थान त्रिपाल वितरण गरेका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिबाट मात्रै २७ हजार ५५ थान त्रिपाल वितरण गरिएको छ । यसैगरी गाविस तथा नगरपालिकाबाट ३ हजार ७ सय २६ थान र संघसंस्था तथा व्यक्तिगतबाट २३ हजार ६ सय २३ थान त्रिपाल वितरण गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ ।

समितिले शुक्रबार जिल्लाका दुई नगरपालिका र २ गाउँ विकास समितिमा ७ हजार ७ सय ५ थान त्रिपाल पठाएको छ । यस अघि पठाइएको संख्याको आधारमा क्षेत्र नं. १ को चुचुरे, हिमगंगा, देउराली, प्रिति, रामपुर, वाम्ती र विजुलीकोटमा त्रिपाल पठाएको हो । त्यसैगरी क्षेत्र न.ं २ को भिरपानी, मझुवा, पुरानागाउँ, खाँडादेवी, डडुवा, खनियापानी, माकादुम, गौश्वार, बेथान, हिलेदेवी, कुवुकास्थली, पिङ्खुरी, राकाथुम, लखनपुर, टोकरपुर र गुन्सी गाविसमा पनि त्रिपाल पठाएको छ ।

समितिले भुकम्प पीडितहरुको अस्थायी आवास, राहत वितरण तथा सो को अनुगमन सम्बन्धि कार्यादेश अनुसार कार्य गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । समितिले भुकम्प पीडितको परिचय पत्रको ढाँचा समेत उपलब्ध गराई सोही अनुसार ७ दिन भित्र निवेदन संकलन गर्ने कार्य सम्पन्न गर्न जिल्लाका २ वटै नगरपालिका र ४५ वटै गाविसलाई जिल्ला विकास समिति मार्फत निर्देशन दिने बताएको छ । भुकम्प पीडितहरुलाई बत्ति र मोवाईल चार्जिङको लागि उपयुक्त १० स्थानहरुमा आवश्यक काम गर्न वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रलाई सिफारिस गर्ने साथै जिल्लाका अन्य ३० स्थानमा समेत स्टेशन राख्न अनुरोध गर्ने समेत निर्णय गरेको छ ।

हालसम्म समितिमा प्राप्त १ हजार १ सय ३५ क्वीन्टल चामल मध्ये ९ सय ६७ क्वीन्टल चामल वितरण गरि सकिएको समितिले जनाएको छ । समितिको बैठकले जिल्लाको दुर्गम क्षेत्रका गाविसहरु गौश्वारा, दुरागाउँ, बाम्ती, हिमगंगा र गुप्तेश्वरमा राहत सामाग्री ढुवानीका लागि हेलिकप्टर पठाई दिन केन्द्रीय देवी प्रकोप उद्धार समितिमा अनुरोध गर्ने निर्णय गरेको छ ।