विश्व खाद्य कार्यक्रमले नागरिको स्वास्थमा खेलवाड गर्यो

जेठ ७, काठमाडौँ – काभ्रेपलाञ्चोकका भूकम्पपीडितलाई संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रम डब्लुएफपीले बाँडेको चामल तत्काल नखान राष्ट्रिय मानवअधिकार आयोगको टोलीले अनुरोध गरेको छ । भूकम्पपीडितलाई कुहिएको चामल वितरण भएको समाचार प्रकाशित भएपछि बुधबार महादेवस्थान र चण्डेनीमण्डन गाविसमा आयोग टोली पुगेको थियो । आयोगका सदस्यद्वय मोहना अन्सारी र गोविन्द शर्मा पौड्यालसहितको टोलीले दुवै गाविस र पाँचखाल केराघारीका घरघरमै पुगेर चामलको नमुनासमेत संकलन गरेर लगेको छ ।

‘धेरै ठाउँमा हेरियो, स्टोर गरिएका गोेदाम पनि हेरियो, स्थानीयसँग पनि बुझ्यौं पत्रपत्रिकामा समाचार आएपछि संस्थाले चामल बाँड्न रोकेको रहेछ, नमुना परीक्षणका लागि ल्याएका छौं, परीक्षणको नतिजा नआउँदासम्म नखान अनुरोध गरेका छौं,’ अन्सारीले भनिन् ।डब्लुएफपीले काभ्रे रेडक्रसमार्फत महादेवस्थान, चण्डेनीमण्डन र पाँचखाल नगरपालिकामा चामल बाँडेको थियो । रेडक्रसको स्थानीय उपशाखामार्फत प्रत्येक घरमा १० किलो चामल पुगेको थियो । दुवै गाविसमा गरी ३ सय ३८ क्विन्टल चामल वितरण भएको हो ।

बोरा खोल्दा चामल पूरै कालो र कुहिएको पाएपछि पहिलोपटक चण्डेनी–३, ज्वानेटारका भूकम्पपीडितले सार्वजनिकरूपमै डब्लुएफपी र काभ्रे रेडक्रसको यस्तो कार्यप्रति आपत्ति जनाएका थिए । महादेवस्थानमा चामलको बोरामा कुनै ब्रान्ड नभएको, ब्याच नम्बर र उत्पादनरप्याकिङ मितिसमेत उल्लेख थिएन । चण्डेनीमा धनगढी–४, बोराडाँडीस्थित ठाकुर एग्रो इन्डष्ट्रिजले उत्पादन गरेको सात्विक सरजु ब्रान्डको चामल दिइएको हो । चामलको बोरामा लगाइएको ट्यागमा ब्याच नम्बर उल्लेख छैन । उत्पादन प्याकिङ मिति मे १५ उल्लेख छ ।

आयोग सदस्यसँगै फिल्डमा पुगेका उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य एवं अधिवक्ता हरिशरण दाहालसमेत चामलको अवस्था देख्दा अचम्ममा परे । ‘गाईवस्तुलाई समेत खुवाउन नहुने चामल बाँडिएको रहेछ, राहतको नाममा खाद्यान्नको कुनै परीक्षण नगरी बाँडेर उपभोक्ता हितमाथि खेलवाड गरिएको देखियो, यसमा सरकारले तत्काल छानविन गर्नुपर्छ,’ दाहालले भने ।
आयोग टोलीले बुधबार नै जिल्ला दैवीप्रकोप उद्धार समितिका अध्यक्ष एवं काभ्रेका प्रजिअ सुदर्शनप्रसाद ढकाललाई चामलको वितरणमा तत्काल रोक लगाउन आदेश दिएको छ,

आजको नागरिक दैनिक बाट