अबको काठमाडौं

जेठ ७, काठमाडौँ – प्रधानमन्त्री हुँदा राजधानीमा सडक विस्तारको हिम्मत गरेका डा बाबुराम भट्टराई नियम मिचेर अग्लिएको घरलाई पनि आकारमा ल्याउने समय आएको ठान्छन् ।

‘विनाशले चेतना ल्याएको छ,’ उनले भने,‘आवश्यक परे कानुन बनाएर भए पनि नियमविपरीत बनेका घर यही बेला भत्काउनुपर्छ । अहिले जनता स्वयं यसमा तयार छन् ।’

योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेललाई पनि सानो मेहनत गर्ने हो भने काठमाडौंलाई व्यवस्थित र सुरक्षित राजधानी बनाउन सकिने लाग्छ । ‘हामीले एकपटक बिगार्यौ, त्यसैले यो दुःख पायौं,’ उनले भने,‘त्यसलाई बिस्तारै सच्याउँदै अब कडाइ गरेर व्यवस्थित बनाउनुपर्छ ।’
अब उपत्यकामा व्यक्तिगत प्रयोजनमा १६ फिट र व्यावासायिकमा ३२ फिट सडक हुनैपर्ने उनको प्रस्ताव छ । ‘सडककै कारण सहर बिग्रिएको छ । जोखिम बढेको छ,’ उनले भने,‘त्यसलाई कडाइ गर्नासाथ धेरै कुरा ठाउँमा आउँछन् ।’

सरकारी अधिकारीहरु पनि त्यसमा सहमत छन् । ‘कोर सहरलाई मर्मत गरेर त्यही रुपमा रहन दिनुपर्छ । त्यसैको प्राचिनतालाई नगदमा रुपान्तरण गर्न सकिन्छ’, स्थानीय विकास मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले भने,‘वरिपरि स्याटलाइट सहर बनाएर त्यता आकर्षण बढाउनुपर्छ ।’
क्षेत्रीय विकास योजनामा पीएचडी गरेका पूर्वप्रधानमन्त्री डा। भट्टराई उपत्यकाको एकीकृत योजनाबद्द विकास गर्न अझ अधिकारसम्पन्न निकायको आवश्यकता औल्याउँछन् ।

आजको कान्तिपुर दैनिक बाट