रामेछापमा राहत वितरण जारी,लोपोन्मुख जाति हायुले पाए राहत

जेठ ६,रामेछाप – द व्हाइट जोन नेपालले रामेछाप जिल्ला रामेछाप नगरपालिकाका हायु जातिलाई राहत सामाग्री उपलब्ध गराएको छ । संस्थाले हायु जाति लगायत नजिक रहेका दलित घरपरिवार गरी जम्मा १ सय ८१ परिवारलाई १.५ बण्डलका दरले जस्तापाता, ३० किलोका दरले चामल, दाल, नुन र भाँडाकुडा लगायतका राहत सामाग्री उपलब्ध गराएको हो । संस्थाका पूर्व अध्यक्ष एवं हाल अमेरिकामा बसोबास गर्दै आउनु भएका ग्याल्पो योन्जन तामाङको नेतृत्वको टोलीले आइतबार ५ बजेदेखि राति ११ बजेसम्म राहत सामाग्री वितरण गरेको संस्थाले जनाएको छ । गएको वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पले त्यस क्षेत्रका सबै घरहरु क्षतिग्रस्त भएका छन् । सो क्षेत्रमा हालसम्म कुनै पनि सरकारी राहत पुगेको छैन । हायु जातिलाई नेपाल सरकारले अत्यन्तै लोपोन्मुख जातिको सूचीमा राखेको छ । २०११ को जनगणनाअनुसार नेपालभरिमा यो जातिको संख्या २ हजार ९२५ जना रहेको छ । जस मध्ये हायु भाषा बोल्नेको सङ्ख्या १ हजार ५२० रहेको छ । यी जातिहरु सुनकोसी नदी वारिपारि बसोबास गर्दछन् । उनीहरुको मूल बसोबास रामेछाप जिल्लाको साविकको गाविस सुकाजोर, रामेछाप र ओख्रेनी गाविसका केही वडामा मात्र छन् । त्यस्तै आधी जति जनसङ्ख्या सिन्धुली जिल्लामा बसोबास गर्दछन् । यी जातिहरु आर्थिक, सामाजिक तथा राजनीतिक पक्षमा पछि परेका छन् ।

यसैबीच संस्थाका पूर्व अध्यक्ष एवं तिल्पुङ स्थाई घर भएका तामाङले आफ्नो व्यत्तिगत तर्फबाट मन्थली स्थीत मन्थली गुम्वाको लागि १० हजार ५ सय बराबरको चामल, दाल, तेल, नुन, चिनी लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप उपलब्ध गराउनु भएको छ । गुम्वामा हाल सञ्चालन भइरहेको लामा शिविरमा लामा भिक्षुहरुले प्रशिक्षण लिइरहेका छन् ।