नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालका पिताको निधन

जेठ ५, काठमाडौँ – नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालका पिताको निधन भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालका ९९ वर्षीय पिता मंगलप्रसाद उपाध्यायको मंगलबार आफ्नै निवास कोटेश्वरमा निधन भएको हो । उपाध्यायको आज बिहान ७ बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई केही महिना अघिदेखि पाटन अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । स्वास्थ्यमा केही सुधार भएपछि बैशाख १२ मा भुकम्प आउनुअघि मात्र अस्पतालबाट डिस्चार्ज गरी निवासमा सारिएको थियो । उपाध्याय वि.सं. १९७३ असोज २५ गते रौतहटको गौरमा जन्मिएका थिए । उनका तीन छोरा र तीन छोरी छन् ।
पिताको निधन हुँदा नेता माधवकुमार नेपाल आज राजधानीमा क्षतिग्रस्त संरचनाहरुको अनुगमन गरिरहेका थिए । उनी संसदीय विशेष अनुगमन समितिको काठमाडौं जिल्ला संयोजक हुन् । सोही समितिले आज बिहानै भुकम्बाट क्षतिग्रस्त संरचनाहरुको अनुगमन गर्न गएका थिए । पिताको निधन भएको खबर सुनेपछि तत्काल आफ्नो निवासमा फर्केका थिए ।