बलात्कारपछि ४२ वर्षसम्म अचेत रहेकी नर्सको मृत्यु

जेठ ५, मुम्बई – एक अस्पतालमा काम गरिरहेकी अवस्थामा यौनजन्य आक्रमणपछि अचेत भएकी र सोही अवस्थामा ४२ वर्षसम्म रहेकी मुम्बईकी एक नर्सको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

सन् १९७३ मा उक्त अस्पतालका कामदारले यौनजन्य आक्रमण गरी धातुको सिक्रीले घाँटी दबाइएकी ६७ वर्षीया अरुणा शानबागको मस्तष्कमा गम्भीर क्षति पुगेको थियो । उक्त अस्पतालमा वार्ड सहयोगीको रूपमा काम गर्ने ती आक्रमणकारीले शानबागको मृत्यु होस् भन्ने मनसायले निजलाई अस्पतालको तहखानामा छोडिदिएको थियो । घटनाको ११ घण्टापछि उनलाई फेला पारिएको थियो । घटनाको समयमा शानवाग २५ वर्षकी थिइन् ।

गत साता शानबागमा निमोनिया देखा परेको थियो र उनलाई गत केही दिनदेखि जीवन जोगाउने प्रणालीमा राखिएको थियो । उक्त जानाकरी मुम्बईको किङ एडवर्ड मेमोरियल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रविण बानगरले दिनुभएको हो ।

शानबागको मुद्दाले भारतमा इच्छामृत्युसम्बन्धी कानुनका विषयमा विवाद आरम्भ भएको हो । मुम्बईमा बसोबास गर्ने लेखक तथा यी नर्सका एक मित्रले उनको पीडालाई थप नलम्ब्याउन उनलाई एक ट्युबका माध्यमबाट खुवाउने कार्य बन्द गरियोस् भनी निवेदन दिएका थिए ।

पिन्की विरानीले शानबागका लागि इच्द्धामृत्युको माग गर्दै दायर गरेको निवेदनलाई भारतको सर्वोच्च अदालतले अस्वीकार गरेको थियो । शानबागले भोगेकी बहनै गर्न नसकिने पीडा अन्त्य गर्न उनको अन्त्यका लागि विरानीले माग गरेकी थिइन् ।

शानबागका परिवारले उनको रेखदेख गर्न आफूहरू अशक्त भएको बताएपछि अस्पतालका नर्सहरूले चार दशकसम्म उनको हेरचाह गरेका थिए । उनीहरूले अदालतमा उक्त निवेदनको विरोध गरेका थिए ।

आक्रमणकारीलाई भने सात वर्षसम्म कारावासपछि मुक्त गरिएको थियो । रासस/एपी